भन्सारको स्क्यानर मेसिन २० वर्षदेखि अलपत्र, सुन तस्कर निर्धक्क

काठमाडौँ, २७ मंसिर । जाँच पास भएरै सुन तस्करी बढिरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगन्ज भन्सार नाकाका लागि चीन सरकारले २० वर्षअघि दिएको जाँच मेसिन जडान नगरी अलपत्र राखिएको छ । मेटल डिटेक्टर, वाक थ्रु गेट र भेहिकल एक्सरेको काम गर्ने प्रविधियुक्त दुई सेट मेसिन जडान नगरी थन्काइएपछि उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

नियन्त्रण र निगरानी गर्न सरकारले आफैंले लगानी नगरेको गुनासो बढिरहेका बेला अनुदानमा दिएको प्रविधिसमेत थन्काएर भन्सार प्रशासनले समग्र तस्करीलाई प्रोत्साहन गरेको सम्बद्ध अधिकारीहरूको टिप्पणी छ । मालवस्तुको प्रविधियुक्त जाँचका लागि २० वर्षअघि चीनबाट अनुदानमा आएका करोडौं रुपैयाँ मूल्यका उपकरण एउटा विमानस्थल र अर्को वीरगन्ज सुक्खा बन्दरगाहामा थन्किएको हो । मेटल डिटेक्टर, वाक थ्रु गेट र भेहिकल एक्सरे गर्ने दुई सेट उपकरण २०६१ मा नेपाललाई चीनले दिएको थियो ।

सरकारले सुन तस्करीमा संलग्नमाथि कारबाही, तस्करीका घटना रोकथाम र नीतिगत सुधारका लागि सुझाव दिन पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगका अध्यक्ष आचार्यले यान्त्रिक उपकरण भएर पनि जडान नगरी थन्क्याइनु अक्षम्य भएको भन्दै यसबारे सम्बन्धित निकाय र जिम्मेवार अधिकारीसँग स्पष्ट जवाफ माग्ने बताए । ‘भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन अनि अवैध वस्तु निकासी र पैठारी हुन नदिन भनेर ल्याइएका उपकरण सम्बन्धित स्थानमा जडान नगरी बेकामे बनाएर राखिनु अक्षम्य हो, यसले गैरकानुनी रूपमा वस्तुको ओसारपसारलाई मलजल गरेको छ,’ आचार्यले कान्तिपुरसँग भने, ‘विमानस्थल भन्सार गोदामको निरीक्षणमा पुग्दा वर्षौंअघि ल्याइएका यान्त्रिक उपकरण जडान नगरी खिया लागेको अवस्थामा भेटिए । रसुवागढीमा स्क्यानरसमेत बिग्रेर सामान्य छामछुम गरेर मात्रै सामान पास गराएको पाइयो ।’

तस्करले भरियालाई मलद्वारभित्र सुन राखेर भन्सारबाट पार गराउने गरेको अवस्थामा सरकारले जाँज उपकरण नराख्नु दुःखदायी भएको उनको प्रतिक्रिया छ । ‘यी सबै गतिविधि नियाल्दा तस्करका भन्सारबाट हुने आउजाउ निकै सहज देखिन्छ,’ उनले भने, ‘यी कमजोरीलाई आगामी दिनमा हुन नदिन आयोगले प्रतिवेदनमा उपयुक्त सुझाव/निर्देशन दिनेछ ।’

अर्थ मन्त्रालयले उपकरण जडान नहुनुमा सञ्चालन खर्च उच्च हुने, दक्ष जनशक्ति अभाव, त्यतिबेला डेडिकेडेट विद्युतीय लाइन नभएको लगायत तर्क अघि सारेको छ । तर अवैध कारोबारमा अवरोध पुग्ने भएपछि गिरोहले शक्तिकेन्द्रको आडमा चलखेल गरेर जडान गर्न नदिएको लामो समय गृह मन्त्रालयमा बसेका एक पूर्वप्रशासकको भनाइ छ । उपकरण भित्र्याउँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।

त्यस बेला कांग्रेस प्रजातान्त्रिकका सभापतिसमेत रहेका देउवा र एमालेसहितको संयुक्त सरकार थियो । भन्सार विभागको महानिर्देशक कृष्णहरि बाँस्कोटा थिए । बाँस्कोटापछि अर्थ मन्त्रालयको पनि सचिव बने । बाँस्कोटाले उपकरण जडान नहुनुको कारण स्पष्ट बताउन चाहेनन् । उनले अनुदानमा भित्रिएका उपकरण सञ्चालन गर्न अर्थ मन्त्रालयका उपसचिवसहितका कर्मचारी निःशुल्क तालिमका लागि चीन गएको भने खुलाए । कर्मचारी तालिम सकेर फर्किए । तर, उपकरण भने जडान भएन ।

तालिम सकेर कर्मचारी आएपछि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गोदाम र वीरगन्ज भन्सार (सिर्सिया) मा उपकरण जडान गर्ने निर्णय भएको थियो । विमानस्थलबाट आएका कार्गोको स्क्यान तथा भारत हुँदै आएका मालवस्तुको जाँचपासअघि यी उपकरणमार्फत स्क्यान गरेर प्रवेश गराउने गरी काम अघि बढाइएको थियो । ‘यो विषय धेरैअघिको भएकाले त्यसबेला सरकारले ठ्याक्कै के निर्णय गरेको थियो भन्न सकिएन, मेरो स्मरणमा रहेसम्म एक सेट विमानस्थल भन्सार र अर्को सेट वीरगन्ज भन्सारमा जडान गर्ने भनिएको थियो,’ पूर्वअर्थ सचिव बाँस्कोटाले भने, ‘उपकरण जडान गर्नुपर्ने कारण भन्सार छली/चोरी/निकासी र तस्करी रोक्नलाई नै हो । वीरगन्जमा केही समय जडान गरेर फेरि हटाइएको भन्नेसम्म सुनेको हुँ । अहिले के कस्तो अवस्थामा छन् मलाई जानकारी भएन ।’

केही वर्षअघि विमानस्थलको यात्रु आगमन कक्षस्थित भन्सार यार्डमा हाई रिजोलुसनको एक्सरे मेसिन राख्ने कुरा चलेपछि त्यहाँका कर्मचारीले विरोध गर्दै अर्थ मन्त्रालयमा डेलिगेसनमा गएको सार्वजनिक भएको थियो । त्यही क्रममा एक्सरे मेसिन राख्न विमानस्थल भन्सारले आनाकानी गरेपछि मन्त्रालयबाटै हस्तक्षेप गरेर जडान गर्नुपरेको प्रसंग एक अधिकारीले सुनाए । सुन तस्करीमा संलग्नमाथि कारबाही, तस्करीका घटना रोकथाम र नीतिगत सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको आयोगले पनि २० वर्षअघि नै भित्र्याइएका भेहिकल एक्सरे मेसिनसहितका उपकरण जडान नहुनुको कारणबारे अर्थ मन्त्रालयका अधिकारीसँग सोधपुछ गरेको छ । उपकरण भएर पनि जडान नगर्नु, कतिपय नाकामा उपकरण नराख्नु र बिग्रिएका उपकरण मर्मत नगरी थन्क्याउनुका कारणसहित जवाफ पेस गर्न आयोगले सोमबार भन्सार विभागलाई पत्र पठाएको अध्यक्ष आचार्यले बताए ।

अनुदानमा दिइएका उपकरण प्रयोगमा नल्याएपछि चीनले नेपाली पक्षसँगको अनौपचारिक कुराकानीमा असन्तुष्टि जनाएको उच्च स्रोत बताउँछ । अवकाश प्राप्त एक सचिवले उपकरण प्रयोग नगर्न त्यसबेलै बिचौलिया र राजनीतिक शक्तिकेन्द्रबाट अवरोध आएको बताए । ‘नेपालको भन्सार प्रशासन र अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई मजबुद बनाउन त्यसबेला गहन रूपमा छलफल र परामर्श भएको थियो । अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित संयुक्त बैठक नै बसेर सुन तस्करीसहित अवैध चोरी/निकासीजन्य गतिविधि नियन्त्रण गर्नुपर्ने निष्कर्ष निकालेको थियो,’ ती सचिव भन्छन्, ‘त्यही बैठकपछि चीन सरकारसँग अनुरोध गरेरै अनुदानमा उपकरण आएका हुन् । तर विभिन्न बहाना बनाएर उपकरण जडान गर्नै दिइएन ।’

पछिल्लो पटक चार खेपमा तस्करीबाट भित्रिएको साढे २९ किलो सुन विमानस्थल क्षेत्रबाट बरामद भएको छ । केही सुन भन्सारको एक्सरे मेसिनबाट जाँचपास भएर बाहिरिएपछि र केही भन्सारकै वाक थ्रु गेटबाट बरामद भएको हो । त्यसअघि चिनियाँ तस्कर, विमानस्थल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र राजनीतिक सेटिङमा सवारीसाधनका ब्रेक सु, अन्य विद्युतीय उपकरणलगायत वस्तुमा लुकाएर ल्याइएको तस्करीको सुन भन्सारको कार्गोबाटै जाँचपास गराएर फुत्काइएका थिए । त्यसअघि पनि तस्करीबाट आएको सुन भन्सारबाटै बाहिरिए पनि नियन्त्रणमा नआएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ब्रेक सुमा लुकाएर ११ महिनामा मात्रै ३ सय ६३ केजी सुन भन्सार जाँच गराएरै फुत्काइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको थियो । विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन पनि भन्सार पार गर्नुअगावै चोरी भएपछि घटनाको पोल खुलेको थियो । उक्त उपकरण के कारणले जडान नभएको भन्नेबारे बुझ्ने काम भइरहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभए बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने

काठमाडौँ, ७ जेठ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) झन् बढेको छ । अघिल्लो महिना ३.७३ प्रतिशत

काठमाडौँ, ७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय

काठमाडौँ, ७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस