मकवानपुर, १७ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।
उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ । प्रदेश सरकार गत असारमा बजेट कार्यक्रम पारित गर्दाको चरणमा प्रतिपक्ष दलहरूसँग गरेको सहमतिका कारण दबाबमा छ । चालु आर्थिक वर्ष २०८०-०८१ को बजेट कार्यक्रम पारित गर्दाको समयमा मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपासँग गरेको सम्झौता अहिले सरकारको लागि समस्याको विषय बनेको हो ।