डेढ दशकदेखि बन्द ढुंगाखानी सञ्चालनको माग

पर्वत, १६ मंसिर । लामो समयदेखि बन्द यहाँको ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । १६ वर्षदेखि बन्द रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् । विशेष गरी यहाँको ढुंगा घर छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्थानबाट पनि माग हुने गरेको छ । 

मोदी गाउँपालिकाको तीन वटा वडा क्याङ, देउराली र भुकताङलेमा माटेको लेकमा रहेको ढुंगा खानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सान बेहोर्नुपरेको छ । देउराली, क्याङ र भुकताङका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको थियो । तत्कालीन समयमा खानीमाथि सबैले आ–आफ्नै दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो । तत्कालीन समयमा खानी सञ्चालनका लागि तीन गाविसका दुई दर्जनभन्दा बढी मजदुरले प्रत्यक्षरुपमा रोजगारी पाएका थिए । यहाँका खानीबाट निकालिएका ढुंगा धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दीका विभिन्न स्थानमा खपत हुन्थ्यो ।  

खानीबाट ढुंगा उत्खनन् बन्द भएपछि ढुंगा संकलन गरेर बिक्री गर्दै आएको भानेबहादुर विकको परिवारले अर्को विकल्प खोज्नुपरेको छ । विकले खानीमा १० वर्षसम्म काम गरे पनि खानी बन्द भएपछि भने बेरोजगार हुनुपरेको गुनासो गरे । यहाँका ढुंगा घर, गोठ, मतान छाउन प्रयोग हुँदै आएका छन् । यहाँको खानीबाट निकालिने ढुंगा जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ हुने भएकाले ढुंगाको माग बढेको हो । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा पाँचवटा ढुंगा खानी छन् । ढुंगाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई पुस्तासम्म छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनको भनाइ छ । 

मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भइरहेको बताइन् ।  सुरुमा खानीसम्म सडकको पहुँच पुर्याउने योजना बनाएको बताउँदै सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग पहल समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न