काठमाडौँ, १५ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतीपूर्ति दिने भएको हो । इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन् ।
इटहरी उपमहानगरपालिका २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना विति सकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर विहीबार रातिदेखि नै रात्री गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउँधनको रक्षा रात्रीकालिन गस्ती गर्न लागिएको हो ।
हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं.२ कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं। २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो । भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् । इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् ।