कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजार पर्यटक

कैलाली, ३ मंसिर । कैलालीको टीकापुर उद्यानमा एकैदिन १० हजारभन्दा बढी पर्यटकले अवलाेकन गरेका छन् । शनिवार हिजाे १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका हुन् । उद्यानमा दशैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।

शनिवार पर्यटकबाट तीन लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । उद्यानमा यही मङ्सिर १ गते एक लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो । उद्यान दशैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताउनुभयो ।

‘दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्, शनिवार भने १० हजार भित्रिए’, उहाँ भन्नुहुन्छ, ‘वनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ ।’

इञ्चार्ज कुँवर उद्यान किनारमा रहेको कर्णाली नदीमा र्‍याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउनुहुन्छ । ‘उद्यानमा रमाइलो वातावरण, नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्’, उहाँ भन्नुहुन्छ, ‘सुदूरपश्चिम घुम्न निस्केका पर्यटक उद्यान पुगेरै फर्किन्छन् ।’

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ । उद्यान ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । उद्यानभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी/बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन् ।

चितवनबाट घुम्न टीकापुर पुग्नुभएका शिक्षक सुरेन्द्र अधिकारी उद्यानमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने बताउनुहुन्छ । ‘घुम्न निस्किएका थियौँ, घोडाघोडी ताल घुमेपछि साथीहरुले उद्यान पनि घुमौँ भन्नुभयो, अनी यहाँ आयौँ’, उहाँ भन्नुहुन्छ, ‘यहाँ त स्वर्ग जस्तै रहेछ । पूर्वाधार थप्न सकेको भए उद्यान थप रमणीय बनाउन सकिन्थ्यो ।’

यस्तै सुर्खेतका सन्दीप ओली उद्यानसँग भएको जमिनको सदुपयोग गर्न लगानी गर्नुपर्ने बताउनुहुन्छ । ‘यहाँ बालबालिका र ज्येष्ठ नागरिक रमाउने खालका पूर्वाधार बनाउन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘उद्यानभित्र पनि आम्दानी हुने खालका संरचना निर्माण गर्नुपर्छ ।’ रासस

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान