जाजरकोट, २४ कार्तिक । भूकम्प प्रभावित क्षेत्रमा अनुगमनमा गएको संसदीय समितिले पनि राहत वितरण सन्तुलित नभएको र आवश्यकताभन्दा पनि पहुँचको भरमा वितरण भइरहेको गुनासो संकलन गरेको छ । प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ तान्दा जाजरकोटवासीको पीडा थपिएको छ ।
जाजरकोटका लागि राहत बोकेर हिँडेका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट बलपूर्वक रुकुम पश्चिमतर्फ लगिएको समाचार कान्तिपुरले बिहीबार प्रकाशित गरेको थियो । यसपछि सत्तापक्षका नेता शर्माले दुवै जिल्ला प्रशासन कार्यालयबाट त्यस्तो राहत सामग्री आएको अभिलेख नरहेको विज्ञप्ति जारी गर्न लगाएका छन् । जाजरकोटमा त्यो सामग्री पुगेकै छैन भने रुकुम पश्चिममा पनि अभिलेख नगरी रातारात बाँडिएको कान्तिपुर समाचारमा उल्लेख थियो ।
स्थलगत अनुगमनमा रहेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कान्तिपुरसँग भने, ‘काठमाडौंबाट हिँडेको राहत सामग्री बीचमै कहाँ हरायो भन्ने प्रश्न छ । बाटोमा कतै रोकिएको छैन । यसले झनै ठूलो रहस्य खडा गरेको छ । यसको खोजबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । काठमाडौंबाट पठाइएका सामान बीचबाटै गायब हुन थाल्यो भने झनै ठूलो समस्या निम्त्याउँछ । यसको जानकारी सरकारले छिटो दिनुपर्छ ।’
भूकम्पको केन्द्रबिन्दु जाजरकोटका २० प्रतिशत पीडितका घरमा अहिलेसम्म सामान्य राहत पनि पुगेको छैन । ‘रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर भत्किएका छन् । पूर्वमन्त्री जनार्दन शर्माले नै १८ हजारभन्दा बढी घर क्षति पुगेको दाबी गर्नुभएको छ । उता, जाजरकोटमा भने ८० प्रतिशत प्रभावितले राहत पाएकै छैनन्,’ संघीय संसद्को राज्य व्यवस्था समितिका सभापति खतिवडाले कान्तिपुरसँग भने ।
संसदीय समितिले दल विशेषले, नेता विशेषले पीडितलाई समान व्यवहार गरेनन् भन्ने आएको गुनासो संकलन गरेको छ ।
‘आफ्नो मतदाता र निर्वाचन क्षेत्र नभएका स्थानमा राहत प्याकेज कम जाने गरेको गुनासो हामीले पनि सुन्यौं । राहत वितरण गर्दा कार्यकर्ता, निर्वाचन क्षेत्र, जातपात, धर्म हेरेर दिन हुन्न । यस्तो बेलामा पार्टीभन्दा माथि उठेनौं, जातभात भन्यौं, मेरा पार्टीका कार्यकर्ता र मेरो क्षेत्र भन्यौं भने अर्को अपराध हुन्छ । यस्तो अपराध कसैले गर्न हुन्न,’ समितिका सभापति खतिवडाले भने ।
उता, माओवादी नेता तथा पूर्वअर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गरी दिएको अभिव्यक्तिले पहुँच प्रयोग गरेर राहत सामग्री आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेको पुष्टि गरेको छ । राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली लागू गरेको छ । तर, शर्माले भने सिधै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर आफ्नो क्षेत्रमा राहत सामग्री वितरण गरेको जनाएका छन् ।
जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक सल्लीबजारबाट रुकुम पश्चिमतर्फ मोडिएको थियो । यो सामान खोजबिन हुँदा बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सोलार वितरण गर्न थालिएपछि ट्रक फेला परेको हो । जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो जिल्लातर्फ आइरहेको तीन ट्रक राहत सामग्री बाटोबाटै ‘हाइज्याक’ गरिएकामा विरोध गरेका थिए । उनको भनाइ थियो, ‘राहत वितरणमा सत्ताको दुरुपयोग भइरहेको छ, पीडितलाई आवश्यकताका आधारमा होइन, आफ्ना मतदाता पहिचान गर्दर् ैराहत वितरण भइरहेको छ ।’ भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका प्रमुख वीरबहादुर गिरीले भूकम्पपीडित परिवारलाई एक–एक वटा पाल र कम्बलसमेत दिन नसकिएको बताए । भूकम्पको केन्द्रबिन्दुमा भएको भौतिक क्षतिलाई पहुँचवालाहरूले गम्भीर रूपमा नलिएका कारण पहिलो चरणको अत्यावश्यक राहत पुर्याउन कठिन भएको उनको भनाइ छ । भने, ‘हामीले व्यवस्था गरेको र सहयोग प्राप्त सबै राहत वितरण गरिसकेका छौं, सबै भूकम्पपीडितलाई एकसरो पाल र कम्बल पनि पुर्याउन बाँकी छ ।’
गाउँपालिकाका अनुसार करिब ९५ प्रतिशत घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ । सोमबारको दोस्रो परकम्पपछि घरमा क्षति नपुगेका परिवार पनि घरभित्र पस्न डराइरहेका छन् । केन्द्रबिन्दु रामीडाँडामा र सिर्पाचौर वरपरका गाउँमा चिसो बढिरहेकाले उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ ।
गाउँपालिकाले आफैं व्यवस्था गरेको र सहयोग प्राप्त त्रिपालको भरमा प्रभावित क्षेत्रका बासिन्दा बसिरहेका छन् । रामीडाँडा र सिर्पाचौरलगायत ठाउँको तापक्रम राति एक डिग्रीसम्म झर्ने भएकाले भूकम्पपीडितलाई पाल, ओढ्ने र ओछ्याउने न्याना कपडाको अभाव भएको स्थानीयको भनाइ छ ।
गाउँपालिकाका ४ हजार ४ सय १७ घरमध्ये २ हजार ५ सय ४ घरमा पूर्ण क्षति भएको छ भने १ हजार ६ सय ९७ घर बस्न नमिल्ने अवस्थामा छन् । पालिकामा कम जोखिम भएका घरहरूको संख्या २१६ मात्र छ । बारेकोट जाने बाटोको नलगाड खोलामा पक्की पुल नभएका कारण ठूला मालवाहक गाडी पुग्न कठिन छ ।
रामीडाँडा स्वास्थ्यचौकी प्रमुख विष्णुराज ज्योतिले हरेक दिन चिसोबाट हुने बिरामीको संख्या बढ्दै गएको बताए । ‘यो अति चिसो हुने ठाउँ हो । पातलो त्रिपालमुनि महिला, बालबालिका, बूढाबूढीले रात काट्नुपरेको छ । यही चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र दमका रोगीलाई समस्या छ,’ उनले भने । स्थानीय शिक्षक रीताकुमारी बोहराले पहिलो काम खुला ठाउँमा बस्न बाध्य व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । ‘घर ढलेका, बस्न नमिल्ने गरी चर्किएका व्यक्तिहरूले सबै कपडा निकाल्न सकेका छैनन् । राहतका न्याना लुगा र म्याट सबैलाई पुगेको छैन,’ उनले भनिन्, ‘चिसो दिनदिनै बढ्दै गएकाले अब पीडितलाई चिसोबाट जोगाउन ध्यान दिनुपर्छ ।’
बारेकोटको रामीडाँडाको दलित गाउँमा यसअघि पनि ठूला विपत्ति आइसकेका छन् । २०६६ मा रामीडाँडामा हैजा फैलिँदा ११ को मृत्यु भएको थियो । त्यसलगत्तै झाडापखालाबाट करिब ३ सय बिरामी परेका थिए । भूकम्पका कारण फेरि महामारीको जोखिम आउन सक्ने स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ । रामीडाँडामा २०७१ मा पहिरो आएर ११ जना व्यक्तिको ज्यान गयो । रामीडाँडाको उत्तरतर्फ पहिरो जाँदा २ जना अझै बेपत्ता छन् । रामीडाँडा गाउँको वरिपरि ठूला पानीका मुहान छन् ।
गाउँभन्दा माथि यसअघि पनि जमिन धाँजा फाटेको स्थानीय विष्णुराज ज्योतिले बताए । ‘हरेक वर्ष वर्षाका बेला हाम्रा खेतका सिमाना आफैं पुरिने देखिएको छ । जमिन तल सरेको छ,’ उनले भने, ‘बेलाबेला सुक्खा मौसममा खोलाको पानी आफैं धमिलो आएको हुन्छ ।’
खानी तथा भूगर्भ विभाग र नास्टको विज्ञ समूहले रामीडाँडाको अवलोकन गरी फर्केको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसन्धान विभागकी प्रमुख एवं भूगर्भविद् मोनिका झाले यसअघि पहिरो गइरहने भएकाले रामीडाँडाको भौगोलिक संरचना कमजोर हुन सक्ने बताइन् । ‘जमिन धाँजा फाट्ने, ठूलो पहिरो जाने स्थानको भौगोलिक संरचना कमजोर हुन्छ । रामीडाँडा वरिपरि त्यस्तो छ भने भूगोल कमजोर हुनुपर्छ,’ उनले भनिन्, ‘त्यो क्षेत्रको अध्ययन गर्नुपर्ने जरुरी देखिएको छ ।’ गत वर्ष बारेकोटको सार्की गाउँमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको थियो । कान्तिपुरबाट