काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री भगबती चौधरीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनी गुटरेसको भ्रमण परिणाममुखी भएको दावी गर्नुभएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।
गुटरेसले संसदमा संबोधन गर्नुभएका विषयवस्तु नेपाल र नेपालीको हितमा रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र यसको असर तथा गरिबी निवारण र आर्थिक, सामाजिक रुपान्तरमा गुटरेसले विश्वको ध्यानाकर्षण गराउनु नै महत्वपुर्ण रहेको चौधरीको जिकिर छ ।
विश्वमा फैलिरहेको युद्धको अन्त्य गर्दै विश्व नै शान्तिको मार्गमा जान गुटरेसले सुझाव दिनुभएको चौधरीले बताउनु भयाे । अबको मार्ग भनेको विश्वमा शान्ति निर्माण गरी शान्त र सुरक्षित मुलुक बनाउनु गुटरेसको सन्देश रहेको चाैधरीकाे भनाइ छ । जलवायु परिवर्तनले नेपालमा पारेको असर र नेपाललाई सहयोग गर्न विश्व समुदायलाई गुटरेसले गरेकाे अपिल सान्दर्भिक भएको उहाँको तर्क छ ।
कार्यक्रममा उहाँले संक्रमकालिन न्यायको विषय प्रधानमन्त्री प्रचण्डकै कारण अलमलमा परेको आरोप लगाउनु भयाे । प्रधानमन्त्री प्रचण्ड संक्रमणकालिन न्यायको पक्षमा नरहेको समेत उल्लेख गर्नूभयो । ‘नेपालकाे शान्ति प्रकृया र संक्रमणकालीन न्यायमा विलम्ब हुनुमा प्रधानमन्त्री प्रचण्ड जिम्मेवार हुनुहुन्छ । सत्ता पक्षकै कारण संक्रमणकालीन न्याय निमार्ण र पिडितले न्याय पाउनुपर्छ भन्ने विषय राेकिएकाे छ । अदालतकाे आदेश पालना गरेर चाँडाेभन्दा चाँडाे शान्ति प्रकृया टुँग्याउनु पर्छ ।’ चाैधरीले भन्नुभयाे ।
यस्तै सांसद चौधरीले एमालेको चियापान कार्यक्रमले टुटेका मनहरु जाेड्ने पनि बताउनु भएकाे छ । चाडवाडकाे शुभकामनासँगै चियापान कार्यक्रमले पार्टीको आन्तरिक जीवन मजबुत बनाउने उहाँको विस्वास छ । चियापानले नेता कार्यकर्तामा देखिएको निराशालाई उत्साहमा रुपान्तरण गर्न सकिने चौधरीको भनाई छ । ‘चाडवाडका वेलामा हुने चियापान कार्यक्रमले नेताहरुमा आत्मीयता तथा एक आपसमा सदभावको विकास गर्न सहयाेग पुगेकाे छ । सबै शीर्ष नेताहरू एकै ठाउँमा उपस्थित हुनुभयाे, याे सकारात्मक कुरा हाे’, चाैधरीले भन्नुभयाे ।
चियापान कार्यक्रममा अतिथिका रुपमा अन्य दलका शीर्ष नेताहरुलाई बोलाउने संस्कार झनै राम्रो भएको भन्दै चाैधरीले यस्ता संस्कारले पार्टी देखि अन्य दलहरु सँग पनि सम्बन्ध बलियो बनाउनेमा विश्वास व्यक्त गर्नुभयाे ।