‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

वालिङ, १६ कार्तिक । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन्।  उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित छन् ।

“गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो”, उनले भने, “यस वर्ष सिजन (याम) मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।”

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउछन्। “कसैले  बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ”, उनले भने। स्थानीय बजारमा दैनिक १०-१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । “दिनभर बजार डुलाउँदा मुश्किलले १०-१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ”, पौडेल भन्छन् । पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाउनुभएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । “सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ”, उनले भने, “कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।” सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए ।

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उनी बताउछन्। कागती भण्डारण गर्न  शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । “भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ”, उनले भने । रासस

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा