परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

वासिङ्टन डीसी, १५ कार्तिक । अमेरिकाको औपचारिक भ्रमणमा आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा यूएसएआईडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेकी थिइन् ।

यूएसएआईडीको मुख्यालय वासिङ्टन डीसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत ६ दशकभन्दा लामो समयदेखि यूएसएआईडीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

भेटका अवसरमा उनीहरुले दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरे ।

सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआईडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो ।

उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ ।

यस भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो । नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पुर्याउँदै आएको चर्चा मन्त्री साउदले गरेका थिए ।

मङ्गलबारको सो भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी थिए ।

नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । सन् १९५१ मा भएको ‘प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा विगत सात दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बन्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर