गण्डकी प्रदेशको ६६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ

गण्डकी, ९ कार्तिक । गण्डकी प्रदेशको ६६ हजार ५ सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कुल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलव ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ६१ हजार ८ सय ५९ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेकामा पछिल्ला पाँच वर्षमा थप ४ हजार ७ सय ८ हेक्टरमा सिँचाइ विस्तार भएको हो । गएको आर्थिक वर्षमा मात्रै ८ सय ९५ हेक्टर सिञ्चित क्षेत्र थपिएको मन्त्रालयको योजना महाशाखा प्रमुख हरिदत्त पौडेलले जानकारी दिनुभयो ।

आव २०७४/७५ सम्ममा कुल खेतीयोग्य जमिनमध्ये १२ दशमलव ६९ प्रतिशत क्षेत्रफलमा मात्र बाह्रैमास सिँचाइ सुविधा पुगेको थियो । मनाङको ९ सय ४४, मुस्ताङको ३ हजार ६१, म्याग्दीको १ हजार ८ सय ६४, बागलुङको २ हजार ७ सय ८९, पर्वतको ६ हजार ५ सय २५ र कास्कीको १२ हजार २ सय २५ हेक्टर जमिन बाह्रैमास सिँञ्चित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै स्याङ्जामा ११ हजार ५३, नवलपुरमा १२ हजार ५ सय १५, तनहुँमा ६ सय ५७, लमजुङमा ५ हजार २ सय ९७ र गोरखामा ३ हजार ६ सय ३७ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । ‘कुल १ लाख ३२ हजार सिँञ्चित क्षेत्रमध्ये ६६ हजार हेक्टरमा बाह्रैमास र ६६ हजार हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘ठूलो क्षेत्रफल ओगटेको पाखो जग्गामा भने सिँचाइको अभाव छ ।’

सतह, भूमिगत र लिफ्टिङ प्रविधिबाट सिँचाइ सुविधा पुर्‍याउने गरिएको महाशाखा प्रमुख पौडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार लिफ्टिङ प्रविधिको सिँचाइका लागि प्रतिहेक्टरमा १२ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । भूमिगत सिँचाइका लागि तराईमा प्रतिहेक्टर १० देखि १२ लाख र पहाडी क्षेत्रमा पाँचदेखि छ लाख रुपैयाँसम्म खर्च हुने महाशाखा प्रमुख पौडेलको भनाइ छ ।

पाखो जग्गामा सिँचाइ सुविधा पुर्‍याउन पछिल्लो समय लिफ्टिङ प्रविधि प्रभावभारी देखिएको उहाँले बताउनुभयो । ‘लिफ्टिङ प्रविधि खर्चिलो हुने भएकाले सबै खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउन राज्यले ठूलो स्रोतसाधन जुटाउनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले लिफ्टिङ आयोजनाका लागि विद्युत् महशुल छुटदेखि अरु अनुदानका कार्यक्रम पनि ल्याएको छ ।’

८ सय ५० हेक्टरको लमजुङको राइनासटार, ८ सय ८५ हेक्टर क्षेत्रफल ओगट्ने स्याङ्जाको चापाकोटटारलगायत गरी गण्डकी प्रदेशमा ठूला–साना सिँचाइ आयोजना सञ्चालनमा छन् । सन् २०२५ भित्रमा थप दुई हजार हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने मन्त्रालयको लक्ष्य छ । किसान कुलो स्तरोन्नति तथा पुनःस्थापना सुधारबाटसमेत बर्सेनि सिँचाइ क्षेत्र विस्तार हुने गरेको छ । बाह्रैमास सिँचाइ भएपछि तीन बालीसम्म उत्पादन गर्न सकिने किसान बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका