मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी, ६ कार्तिक । मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैंका लागि ५ हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो । प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रूपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि ब्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।

कृषकले प्रतिगोटा ४० हजार रूपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ ।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटिहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव छ । दशैं तिहारमा च्याङग्राको मासुको खपत बढी हुने गर्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङग्रा फार्म छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचितुवा, ब्वाँसो र जंगली कुकुरले च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताए । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना