आज महानवमी, नवदुर्गाको विशेष पूजा गरिँदै

काठमाडौँ, ६ कार्तिक । बडा दसैंअन्तर्गत महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा-आराधना गरी मनाइँदै छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दशैंघरमा आज नवदुर्गामध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणा समेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। यसैबीच हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ। यसवर्ष भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजया दशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ। मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि समेत दिइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्