काठमाडौँ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताएका छन् ।
आज काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन आवश्यक रहेको बताए ।
उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा कठोर बन्दै जाने संकेत गरे । उनले अर्थतन्त्र सुधारको टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको बताए । उनले अझै पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको बताए ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारका कोशिस गरेपनि अर्थतन्त्र कतै न कतै समस्याग्रस्त रहेको भन्दै केही कुरामा गम्भीर रुपले समीक्षा नगर्ने र बोल्ड डिसिजन लिनेतिर अघि नबढ्ने हो भने झनै अफ्ठ्यारोमा जानसक्ने खतरा रहेको बताए ।