काठमाडौँ, २४ असोज । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले मुद्दा दर्ता गराएको हो ।
मुद्दामा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।
पूर्वसभामुख महरा भने प्रतिवादी बनाइएका छैनन् । टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकृतहरु बताउँछन् । मिसिलमा संलग्न महराको बयान कागजमा महराले तत्कालीन विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको भनेका छन् ।