मिथिलामा आज जितीया व्रत

महोत्तरी, १९ असोज । सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् ।

बितेको मध्यरातअघि ‘ओगटन’  (दर) खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।

असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ । एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि (९.२७) सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत सुरु गरेका हुन् ।

सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे नौ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन् । व्रत सुरु गर्नअघि बर्तालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरेका थिए ।

मधेसको प्राचीन मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।

व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ । त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ । आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने बर्तालु आमा बताउँछन् ।

सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित बर्तालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै बर्तालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन् ।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द—आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ । त्यही नै व्रतका आराध्यदेव जितवाहनको कथा सुन्ने परम्परा छ ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाका आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।

राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको मानिन्छ । यस क्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा  सजिलोका लागि मधेसका कैयन स्थानीय तहले बर्तालुका लागि बिदाको घोषणा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल ।  मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने