काठमाडौँ, १६ असोज । पाठेघरको मुखकाे क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । अभियानको शुरुमा विभिन्न अवरोधका कारण खोप अभियान प्रभावकारी नभएपछि समय थप गरिएको थियो ।
सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो ।