चिनियाँ आपराधिक समूहको पासोमा म्यानमारमा बन्धक बन्दै नेपाली

काठमाडौँ, ३० भदौ । गत वर्ष भदौ ६ गते म्यानमारबाट काठमाडौं ओर्लिंदा सनसाइन (परिवर्तित नाम) लाई लागेको थियो, अब त पक्कै बाँच्छु । सनसाइनको जीवनमा कस्तो घटना भयो र परिबन्दको डोरी कसरी कसिँदै गयो, त्यो बुझ्न उनको कथा काफी छ । सनसाइनको कथामा कसरी पढालेखा र कम्प्युटरको ज्ञान भएका नेपाली युवा चिनियाँ आपराधिक समूहको प्रलोभनमा परेर साइबर दास बनिरहेका छन् र उनीहरू कसरी जोखिमपूर्ण अपराधमा प्रयोग भइरहेका छन् भनेर बुझ्न सकिन्छ । 

झन्डै तीन वर्षअघि चिनियाँ भाषाको दोभासे काम गर्ने एक जना दिदी पर्नेले चिनियाँ नागरिक जोनसन भन्ने लियाङ जुनसँग काठमाडौंमा उनको भेट गराइदिएकी थिइन् । ब्युटिपार्लरको सीप भएकी उनलाई त्यही भेटमा जोनसनले मासिक १५ हजार तलबमा मसाज र नेल आर्ट गर्ने कामको प्रस्ताव गरेका थिए । यही भेटपछि उनले जोनसनको लैनचौरस्थित ब्युटिपार्लरमा काम थालेकी थिइन् । एक दिन जोनसनले सबै कर्मचारीलाई राखेर सुनाए, ‘तपाईंहरूमध्ये कोही थाइल्यान्डमा कम्प्युटर टाइपिङको काममा जान इच्छुक हुनुहुन्छ भने मासिक एक लाख पचास हजारभन्दा धेरै तलब हुन्छ र जाँदा एक लाख खर्च लाग्छ ।’

नाबालक सन्तान हुर्काइरहेकाले उनले सुरुमा बहिनीलाई उक्त काममा पठाउने चाँजो मिलाइन् । एक लाख तिरेर बहिनी थाइल्यान्ड पुगेको केही समयपछि अर्थात् २०७९ साउन ९ मा उसैगरी एक लाख रुपैयाँ बुझाएर पर्यटक भिसामा उनी पनि बैंकक पुगिन् । सनसाइनका अनुसार त्यतिबेला उनीसहित ११ नेपालीलाई चिनियाँ एजेन्टले बैंककबाट अवैध रूपमा म्यानमारसम्म पुर्‍याएका थिए ।

सनसाइनले काम गर्ने ठाउँ बस्तीभन्दा पर मात्रै होइन, चौबीसै घण्टा कडा सुरक्षा घेराभित्र थियो । त्यहाँ उनको काम पूरै निगरानीमा हुन्थ्यो र दैनिक १६ देखि १८ घण्टासम्म लगातार काम गर्नुपर्थ्यो । एजेन्टले उनलाई सनसाइन नाम राखेर फेसबुक, ह्वाट्सएप, ट्वीटर, इन्स्टाग्राम र कैयन् डेटिङ एपको खाता खोलिदिएका थिए । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर उनीहरूले सनसाइनले फिलिपिन्सबाट अनलाइन चलाइरहेको बनाइदिएका थिए ।

एजेन्टले उनलाई अमेरिकी पुरुषहरूसँग मायाप्रेमका कुरा गर्दै सम्बन्ध विस्तार गर्ने र व्यापार वा क्रिप्टोकरेन्सीमा लगानी गर्ने विषयमा कुरा गरेर उनीहरूबाट पैसा ठग्ने काम गर्नुपर्ने बताएका थिए । आधुनिक साइबर दासत्व र मानव तस्करीमाथि अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय संस्था ह्युम्यानिटी रिसर्च कन्सल्टेन्सीले प्रकाशित गरेको एक अध्ययनअनुसार यो संगठित अपराधमा इन्टरनेटको माध्यमबाट धनी, एकल पुरुष वा एक्लोपनको सिकार भइरहेकाको पहिचान गरेर उनीहरूसँग साथी बनेजस्तो गरी झूटो रोमान्सपूर्ण सम्बन्ध विस्तार गर्दै वा उनीहरूलाई लगानीको प्रलोभन देखाएर वा नक्कली क्रिप्टोकरेन्सीको कारोबार गर्ने प्लेटफर्महरू निर्माण गरेर त्यसमा लगानी गर्न उक्साएर ठग्ने काम हुन्छ ।

यस्तो अपराध चलाउनेहरूले दक्षिण एसियाका भारत, बंगलादेश, म्यानमारदेखि जाम्बिया, जिम्बावेलगायतका देशका अंग्रेजी भाषा जान्ने र कम्प्युटरमा ज्ञान भएका युवालाई आकर्षक जागिरको प्रलोभन देखाएर कम्बोडिया र म्यानमार पुर्‍याई बन्धक बनाएर उनीहरूलाई भनेअनुसारको काम गर्न बाध्य पार्दै आएका छन् । यसरी दासत्वपूर्ण अवस्थामा पुर्‍याएकालाई निर्देशनअनुसार काम नगरे शारीरिक र मानसिक यातना दिने, खान नदिई थुनेर राख्ने र उनीहरूलाई कतैबाट सहायता खोज्न नसक्ने गरी बन्धक बनाएर राख्ने गरिन्छ । यसरी बन्धक बनाइएका कतिपयलाई मोडलजस्तै अभिनय गरेर ठग्ने काममा प्रयोग गर्न बाध्य बनाइन्छ भने कतिपयलाई यौन कोठीहरूमा काम गरेजसरी भर्चुअल सेक्सका काममा लगाउने गरिएको छ ।

सनसाइनलाई पनि अपरिचित अमेरिकी पुरुषहरूसँग कसरी कुराकानी गर्ने, उनीहरूलाई कसरी प्रलोभनमा पार्ने भनेर एक साता तालिम दिइएको थियो । त्यसपछि उनलाई भनिएको थियो– च्याट तथा भिडियोमा बोलेर प्रलोभनमा पार्ने र बाध्य पारी व्यापार वा विभिन्न क्रिप्टोकरेन्सीमार्फत लगानी गर्न वा किन्न लगाउने । उनले आफूलाई अनलाइन ठगीको धन्दामा लगाइएको थाहा पाएपछि यस्तो काम गर्दिन भन्दा कुटपिट गरेको र खानसमेत नदिई शारीरिक र मानसिक यातना दिइएको बताइन् । दैनिक १८ घण्टासम्म यसरी अनलाइन ठगीमा प्रयोग गरेको बीसौं दिनमा उनी बिरामी परिन् । त्यसपछि घर फर्किन खोजेकी उनलाई अनलाइन ठगको धन्दा चलाएका चिनियाँहरूले नेपाल फर्किने भए एक लाख पचास हजार रुपैयाँ तिर्नुपर्ने सर्त राखेका थिए ।

यातना सहेर त्यहीं बस्ने कि पैसा बुझाएर नेपाल फर्कने भन्ने दोधारका बीचमा उनी ७५ हजार रुपैयाँ बुझाएर त्यहाँबाट उम्किइन् र नेपाल आइन् । नेपाल फर्किएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिइन् । उजुरीपछि असार २७ मा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चिनियाँ नागरिक जोनसन भन्ने लियाङ जुनलाई काठमाडौंबाट पक्राउ गर्‍यो । जोनसन पक्राउ परेपछि प्रहरीले यो गिरोहले पीडितसहित अन्य १० जनालाई पनि यसैगरी जबर्जस्ती अनलाइन ठगीमा प्रयोग गरिरहेको निष्कर्ष निकालेको थियो ।

सन् २०१८ मा पर्यटक भिसामा आएका जोनसन त्यतिबेला केही महिना बसेर चीन फर्किएको देखिन्छ । २०२१ मा फेरि पर्यटक भिसामा आएका उनी व्यापार भिसा लिएर यतै बसेका थिए । प्रहरी अनुसन्धानमा स्वयम्भू क्षेत्रमा डेरा गरी बसेर उनले चिनियाँहरूलाई भिसा र भाषामा सहयोग गर्ने कन्सल्टेन्सी खोल्नेदेखि ल्यापटप र मोबाइल बेच्ने पसल, ठमेलमा कपडा पसल, ट्राभल एजेन्सी र दरबारमार्गमा ब्युटिपार्लरसम्म चलाएको देखिन्छ । अनौठो त यो छ कि यीमध्ये उनले चलाएको ट्राभल एजेन्सी र दरबारमार्गको ब्युटिपार्लर दुवै कुमार तामाङको नाममा दर्ता छ । आवरणमा विभिन्न व्यापार देखिए पनि त्यहाँ काम गर्ने कर्मचारीलाई प्रलोभन देखाएर थाइल्यान्ड भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाई साइबर ठगीमा प्रयोग गरिरहेको देखिन्छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवन श्रेष्ठले इन्टरनेटमा दक्ष र पढालेखा युवा नै चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको साइबर अपराधको जालोमा परिरहेको बताए । उनले अहिलेसम्म ब्युरोको सम्पर्कमा २७ जना पीडित आएको र तीमध्ये ५ जनाले दिएको जाहेरीका आधारमा एक चिनियाँसहित चार जना पक्राउ परिसकेको बताए । ‘साइबर दास बनाउने यो नयाँ शैलीको अपराधमा फसेका नेपालीले यातना मात्रै पाएका छैनन्,’ उनले भने, ‘फिरौती रकमबापत लाखौं रुपैयाँ पनि गुमाइरहेका छन् ।’ उनले फिरौती रकम क्रिप्टोकरेन्सीमार्फत बुझाएकाले लाखौं रुपैयाँ अवैध रूपमा देशबाहिर गएको हुन सक्ने चिन्ता पनि व्यक्त गरे ।

म्यानमारबाट फर्केकी सनसाइनले त्यहाँका विभिन्न भवनमा सयौंको संख्यामा नेपाली रहेको हुन सक्ने बताइन् । थाइल्यान्डस्थित नेपाली दूतावासले विज्ञप्ति नै जारी गरेर सामाजिक सञ्जालमार्फत आकर्षक तलब सुविधाको लोभ देखाएर विभिन्न कम्पनी, क्यासिनो, डिजिटल मार्केटिङको क्षेत्रमा काम लगाउने भन्दै थाइल्यान्ड हुँदै म्यानमार, कम्बोडिया र लाओस पुर्‍याइएका नेपालीलाई अनधिकृत रूपमा गैरकानुनी काममा लगाउने र बन्धक बनाउने घटना बढिरहेको भन्दै सतर्क हुन भनेको छ ।

सनसाइनको जस्तै कथा छ, मन्डिखाटारका युवा हेमको पनि । राइड सेयरिङ एपमार्फत हुने कमाइमा मात्रै सन्तुष्ट नभइरहेका उनी वैदेशिक रोजगारीमा जाने योजनामा थिए । उनले एक जना साथीमार्फत थाइल्यान्डको कल सेन्टरमा अंग्रेजी टाइप गर्ने र मासिक एक हजार डलर कमाइ हुने कामको प्रस्ताव पाए । १७ मंसिर ०७९ मा हेमसहितका तीन साथी एजेन्टलाई जनही ५ लाख बुझाएर कलकत्ता पुगे । त्यहाँ उनीहरूको भेट अरू ५ जना नेपालीसँग भएको थियो । ‘कलकत्ता उड्ने दिन मात्रै मैले काम थाइल्यान्डमा होइन, म्यानमारमा गर्ने भन्ने थाहा पाए,’ हेमले सुनाए, ‘पैसा बुझाइसकेको र एजेन्टले पनि एउटै कम्पनी हो भनेपछि म उडें ।’

उनीहरू थाइल्यान्डको बैंककलाई ट्रान्जिट बनाएर म्यानमारको यांगुन पुगे । त्यहाँबाट उनीहरूलाई चिनियाँ एजेन्टले १४ घण्टा गाडी यात्रापछि दक्षिणपूर्वी सहर मायावाडी पुर्‍यायो । उनीहरूसँगै उडेका अन्य तीन जना भने बैंककबाट अवैध रूपमा म्यानमार छिरेर त्यहीं आइपुगे । उनीहरू सबैको काम थियो, सनसाइनले गरेजस्तै अमेरिकी र युरोपेलीलाई परिचय ढाँटेर म्यासेन्जर, टिकटक, ह्वाट्सएपदेखि टिन्डरलगायत डेटिङ एपमार्फत प्रलोभनमा पारेर डिजिटल ठगी गर्ने । आफू त्यहाँ पुग्दा करिब दुई सय नेपाली बन्धक भएर काम गरिरहेको भेटेको उनले बताए ।

आफूहरूले रातिको ९ बजेदेखि अर्को दिनको दिउँसो १ बजेसम्म १६ घण्टा काम गर्न बाध्य भएको र त्यसबीचमा भनेजस्तो टार्गेट पूरा गर्न नसके थप केही घण्टा काम गर्नुपर्ने बाध्यकारी नियम भएको बताए । ‘१६ घण्टामा कम्तीमा ५ जनालाई प्रलोभन देखाएर ट्र्यापमा पारिसक्नुपर्थ्यो,’ हेमले भने, ‘कतिपय कामदारलाई त दिन तोकेर यति हजार डलर नै ठग्नुपर्ने भनेर टार्गेट दिइन्थ्यो ।’ उनका अनुसार कतिपयलाई एक सातामा ५ हजार डलर ठगेर जम्मा पार्नुपर्ने टार्गेट दिइन्थ्यो । चिनियाँ आपराधिक समूहहरूले भनेजस्तो गर्न नसक्नेलाई चरम शारीरिक यातना दिन्थे । कतिपयलाई उनीहरूले विद्युतीय झट्का लगाउँथे भने कतिपयलाई १६ घण्टा काम गरेपछि थप तीन–चार घण्टा काम गरिराख्न बाध्य बनाउँथे । ‘कोर्राले पिट्ने, हत्कडी लगाएर राख्ने, रातभर पानीको जार बोकेर उभिराख्नुपर्नेजस्ता यातना दिन्थे,’ उनले सुनाए ।

चिनियाँ आपराधिक समूहको डिजिटल ठगी धन्दामा फसेर फर्केकाहरूका अनुसार उनीहरूलाई म्यानमार सरकारको कमजोर उपस्थिति रहेको र कडा सुरक्षा घेराभित्रको घरमा बन्धक बनाएर राखिएको थियो । पीडित युवा र सनसाइनका अनुसार उनीहरूलाई एउटा ठूलो हलमा लस्करै राखेर काममा लगाइन्थ्यो र उनीहरूको डिजिटल गतिविधि निगरानीमा हुन्थ्यो । ‘न आफ्नो दुःख अरूलाई सुनाउने सम्भावना हुन्थ्यो, न सँगै काम गर्नेसँगै कुराकानी गर्ने समय,’ उनले भने, ‘पूरै बन्धक बनाएर, धाकधम्की देखाएर काम गर्न बाध्य पारिन्थ्यो ।’

झन्डै नौ महिना यातनापूर्ण समय बिताएपछि पीडित युवा जसरी पनि नेपाल फर्किने प्रयत्नमा लागे । चिनियाँ आपराधिक समूहका सदस्यलाई जनही ८ लाख रुपैयाँ क्रिप्टोकरेन्सीमार्फत फिरौती बुझाएर उनीसहितको समूह त्यहाँबाट उम्किएको उनले सुनाए । म्यानमारबाट उम्केर थाइल्यान्ड सीमामा आइपुगेका हेमले नेपाल फर्किंदासम्म आफूहरूको जनही १० लाख रुपैयाँजति खर्च भएको बताए । उनले भने, ‘हामीलाई जस्तो दुःख कसैलाई नपरोस् ।’

चिनियाँ आपराधिक समूहले बन्धक बनाएर चलाइरहेको डिजिटल ठगीको यो धन्दामा नेपालीहरू फस्नुका पछाडि प्रलोभनमा परेका नेपालीहरू पनि कारण बनिरहेका छन् । त्यहाँबाट उम्केकाहरूका अनुसार कतिपयलाई चिनियाँहरूले नेपालबाट अरू मान्छे बोलाउने हो भने व्यक्तिको क्षमताअनुसार डेढदेखि तीन लाख रुपैयाँसम्म दिने आश्वासन दिएको देखिन्छ । यही लोभमा परेर कैयन् नेपालीले आफू त फसियो फसियो भन्दै अरू चिनेजानेकालाई बोलाएको देखिन्छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी श्रेष्ठले पनि अनुसन्धानका क्रममा नेटवर्किङ शैलीमा त्यहाँ फसेकाहरूले अरूलाई फसाएको देखिन्छ ।

म्यानमारमा बन्धक बनेका कति नेपाली फर्किए र उनीहरूले कति पैसा बुझाए भन्ने यकिन छैन । त्यहाँबाट फर्केकाहरूका अनुसार झन्डै दुई सय नेपाली आपराधिक गिरोहलाई फिरौती बुझाएर फर्किसकेको अनुमान गर्न सकिन्छ । उनीहरूले औसतमा ८ देखि १० लाख रुपैयाँ बुझाए पनि १८ करोड हाराहारीमा नेपालीले फिरौती रकम बुझाएको देखिन्छ, त्यो पनि विभिन्न क्रिप्टोकरेन्सीमार्फत ।

यही चिनियाँ आपराधिक समूहको गिरोहबाट जनही ८ लाख बुझाएर उम्किएका ५ नेपाली भने झन्डै दुई महिनायता म्यानमारको यांगुनमा अड्किरहेका छन् । यो समूहमा रहेका हेटौंडा स्थायी घर बताउने ३२ वर्षीय युवकले आफूहरू केही समय आफ्नै खर्चमा होटलमा बसेपछि पछिल्लो १२ दिनयता एक संस्थाको आश्रयमा नेपाल फर्किने दिन कुरेर बसिरहेको बताए । उनले आफूहरू सबै जनही ३ लाख बुझाएर यहाँसम्म आइपुगेको र चरम यातना र मानसिक तनावका बीच महिनौंसम्म बन्धकपूर्ण अवस्थामा काम गर्न बाध्य भएको बताए । उनले फिरौती बुझाएपछि पनि बन्धक बनाएको ठाउँबाट यांगुनसम्म आइपुग्न आफूहरूले ३६ हजार रुपैयाँ गाडी भाडामात्रै बुझाएको बताए । ‘मैले काम गरेको क्याम्पमा मात्रै झन्डै ६० जना नेपाली थिए,’ उनले भने, ‘एउटा ठूलो हलमा नेपाली, इन्डोनेसियाली, भियतनामी, चिनियाँ, श्रीलंकन, मलेसियन र भारतीयलाई पनि बन्धक बनाएर काम लगाएका छन् ।’

नेपालबाट मात्रै नभएर खाडीका विभिन्न देशमा काम गरिरहेका नेपालीहरू पनि धेरै कमाइने प्रलोभनमा परेर अवैध रूपमा म्यानमार पुगेको देखिन्छ । जस्तो कि २६ वर्षकी रोशनी (नाम परिवर्तन) चार वर्षदेखि दुबईको एक होटलमा मासिक १८ सय दिराम तलबमा काम गरिरहेकी थिइन् । तर, दैनिक दस घण्टे काम र कमाइले मात्रै उनी सन्तुष्ट थिइनन् । एक दिन उनले सूचना पाइन्, मासिक १५ सय डलर तलब हुने काम गर्न म्यानमार जाने । गत चैतमा उनी एजेन्टको सहयोगमा दुबईबाट थाइल्यान्ड पुगिन् । त्यहाँबाट एजेन्टले उनीसहित दुई नेपाली, तीन भारतीय, दुई पाकिस्तानीलाई जंगलको बाटो मोटर, मोटरसाइकल र डुंगा यात्रामार्फत थाइल्यान्डको सीमामा पर्ने म्यानमारको मेओदी पुर्‍यायो ।

‘हामी पुग्दा त्यहाँ अरू १० जनाले पनि काम गरिरहेका थिए,’ उनले भनिन्, ‘बन्धक बनाएर डिजिटल ठगीको धन्दामा आफूलाई लगाइएको थाहा पाएपछि हामी त्यहाँबाट फर्किन खोज्यौं ।’ तर फर्किन कहाँ सजिलो थियो र ? उनीजस्तै फर्किन खोज्नेलाई चिनियाँ अपराधीले खाना र पानीसमेत नदिई कोठामा थुन्ने र शारीरिक यातना दिने गर्थे । २४ घण्टे सुरक्षामा रहेको क्याम्पभित्र बन्धक बनेका भारतीयको उद्धारमा भारत सरकारले कूटनीतिक निकायलाई परिचालन गरिरहेको थियो । भारत सरकारकै पहलमा भएको उद्धारमा ६ भारतीय, तीन पाकिस्तानीसहित उनको पनि उद्धार भयो । उद्धारपछि उनी म्यानमारस्थित नेपाली दूतावासको सम्पर्कमा पुगिन् ।

म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले विद्रोही समूहको पकड क्षेत्र रहेको मेओदीमा नेपालीलाई बन्धक बनाएर गैरकानुनी डिजिटल ठगीमा लगाइएको बताए । राजदूत घिमिरेले बन्धकमा फसेकामध्ये ४८ जना दूतावासको सम्पर्कमा आएको र तीमध्ये ४३ जना फर्किसकेको बताए । उनले बन्धकमुक्त भएर सम्पर्कमा आएकामध्ये धेरैको भिसाको म्याद समाप्त भइसकेको र उनीहरूले ओभरस्टेबापत दैनिक ५ डलरको दरले जरिवाना तिर्नुपर्ने अवस्था रहेको बताए । ‘यो क्षेत्रमा कति नेपाली छन् भन्ने नेपाली दूतावाससँग यकिन तथ्यांक छैन,’ उनले भने, ‘उक्त क्षेत्रमा कुनै पनि सरकारी निकायका अधिकारी जान सक्ने अवस्था छैन ।’

चिनियाँ आपराधिक समूहबाट बन्धक बनाइएका र फिरौती बुझाउन नसकेका ११ जना पीडितका परिवारले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष निवेदन नै दिएका छन् । आयोगले उनीहरूको सुरक्षाका लागि तत्काल उद्धार गर्न भन्दै करिब एक साताअघि परराष्ट्र मन्त्रालयमा पत्रसमेत पठाइसकेको छ । आयोग स्रोतका अनुसार त्यहाँबाट फर्केकाहरूका अनुसार फिरौती बुझाएर उम्केका दुई नेपाली भने गैरकानुनी रूपमा थाइल्यान्ड छिरेको आरोपमा पक्राउ परेर जेल सजाय भोगिरहेका छन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्