एकै गिरोहबाट ३६३ केजी सुन तस्करी: तस्करको सम्बन्ध माओवादी नेतासँग रहेको पुष्टि

काठमाडौँ, २८ भदौ । माओवादीका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको पुष्टि भएको छ ।

तस्करीको सुन विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेन्टकै सहयोगमा गिरोहले गन्तव्यसम्म पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । अनुसन्धानमा तानिएकाहरूले दिएको बयानअनुसार सुन तस्करको सम्बन्ध माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनको परिवारसँग निकट रहेको खुलेको छ ।

त्यसकै आडमा विभिन्न तहमा आपराधिक सञ्जाल बनाएर सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को जुलाईसम्म हङकङ र दुबईबाट ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन हङकङ र दुबईबाट भित्र्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको हो । पूर्वउपराष्ट्रपति पुन तत्कालीन माओवादी लडाकु कमान्डर हुन् भने महरा र वर्षमान पुन माओवादीमा क्रमशः उपाध्यक्ष र उपमहासचिव छन् ।

हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गरेर सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले गत साउन २ मा बरामद गरेको थियो । तस्करी गरेको सुन काठमाडौंमा व्यवस्थापन जिम्मा पाएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले माओवादी नेता तथा परिवारका सदस्यसँगको पहुँच प्रयोग गरेको देखिन्छ । त्यही पहुँच प्रयोग गरी सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता तथा राहदानीसमेत बनाइदिएको भेटिएको छ ।

दावाले माओवादी कार्यकर्ता रोल्पाकी अमला रोकासँग विवाह गरेर अपराधको सञ्जाल फैलाउन सफल भएको अनुसन्धानले देखाएको छ । त्यस्तै विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुनका तस्कर दावाजिन वाङको माओवादी नेता महरा तथा उनका दुई छोरा राहुल र निर्मलसँग निकट सम्बन्ध रहेको पनि खुलेको छ । भेपको अनुसन्धान अझै जारी छ ।

ब्रेक–सुभित्र लुकाएर तस्करले करिब ६१ केजी सुन प्रकरणमा भने बुधबार ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सीआईबीले सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । ब्रेक–सु प्रकरणमा सुरुमा १९ दिनसम्म विभाग र त्यसपछि संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरेको थियो । तस्करीका नाइके किटान गरिएका तिब्बती मूलका बेल्जियन नागरिकद्वय दावा छिरिङ र एलेक्स भनिने याओ फुचेन तथा चिनियाँ नागरिक दावाजिन वाङसँग सम्पर्क/सम्बन्ध देखिएपछि सीआईबीले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सोधपुछ र बयान लिएको थियो । दुवैले दावा र वाङसँग सम्पर्क रहेको तर सुन तस्करीमा संलग्नता नरहेको जिकिर गरेका छन् । अनुसन्धानका क्रममा दीपेशसँग सीआईबीले उनले प्रयोग गरिरहेको मोबाइल मागेको थियो । सीआईबी कार्यालयमै गएर कागज गरी ‘म मोबाइल भोलि ल्याएर दिन्छु’ भनेर हिँडेका दीपेश त्यसपछि बोलाउँदा उपस्थित नभएको एक अनुसन्धान अधिकृतको भनाइ छ । ‘हालसम्म मोबाइल पनि उनले दिएका छैनन्,’ ती अधिकृतले भने ।

यस्तै पूर्वअर्थमन्त्री तथा माओवादी उपमहासचिव पुनका भाइ प्रनिश चिनियाँ तस्करको समूहले खोलेको कम्पनीमा साझेदार रहेको भेटिएको छ । सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको रायसहितको प्रतिवेदनमा भने उनीहरूलाई प्रतिवादी बनाइएको छैन । माओवादीसँग निकट विवादास्पद व्यापारी भीमकान्त भण्डारीको पनि सुन तस्करसँग सम्पर्क भएको अनुसन्धानले देखाएको छ । तर, आफ्नो सम्पर्क व्यापारिक साझेदार र सहकार्यका लागि भएको जिकिर गरेका छन् । भण्डारी पूर्वनासु हुन् । माओवादीका चार नेता विभिन्न मितिमा मन्त्री हुँदा भण्डारी उनीहरूकै सचिवालयमा बसेर काम गरेका थिए ।

सुन तस्करसँग सम्पर्कमा देखिएका अध्यागमन विभागका निवर्तमान महानिर्देशक झलकराम अधिकारीले पनि सम्बन्ध स्वीकार गरेका छन् । उनले तस्करसँग सुनको विषयमा कुरा नभएको जिकिर गरेका छन् । यसरी पटक–पटक राज्य सञ्चालनमा सामेल भइसकेका माओवादी शीर्ष नेताहरू र उनीहरूसँग निकट व्यापारी र कर्मचारीलाई प्रभावमा पारेर गिरोहले तस्करीमा सञ्जाल प्रयोग गरेको अनुसन्धानले देखाएको हो ।

पछिल्लो पटक बरामद ६१ केजी र बरामद हुन नसकेको तर यकिन भइसकेको गरी कुल ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी तथा भन्सार छलीमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो कायम गरेर संगठित अपराध निवारण ऐन, भन्सार ऐन, नेपाल राष्ट्र बैंक ऐन, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन र मुलुकी अपराध संहिता ऐन गरी सातवटा कसुरमा कैद र जरिवाना मागदाबीसहित मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पहिलो चरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । नेपाली नागरिकता र राहदानी लिएर अपराधमा सामेल विदेशीलाई सातवटै कसुरमा मुद्दा चलाउन राय दिइएको छ । त्यस्तै संगठित अपराध, मुलुकी अपराध संहिता र भन्सार छलीबाहेक क्रिप्टोको कारोबारमा संलग्न नेपालीको हकमा राष्ट्र बैंक ऐनअनुसार थप कसुर लगाउन राय दिइएको छ ।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले अन्तरदेशीय अपराधको सञ्जाल खडा गरेका तस्करले सुन भित्र्याउने गरेको पाइएको र त्यसको पहिलो चरणको अनुसन्धान टुंग्याएर सरकारी वकिललाई रायसहित प्रतिवेदन बुझाइएको बताइन् । उनले पछिल्लो सुन तस्करीको अनुसन्धानबाट आपराधिक सञ्चालको साम्राज्य तोड्न सीआईबी सफल भएको दाबी गरिन् ।

‘अन्तरदेशीय आपराधिक गिरोह बनाएको तह–तहको सञ्जालबाट चीन, दुबई र हङकङलगायत मुलुकबाट सुन तस्करी गर्ने गरेको भेटियो,’ सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘आरोपितलाई पक्राउ गरिसकेपछि कानुनले नै तोकेको समयसीमाभित्र अनुसन्धान सक्नुपर्ने बाध्यताले तथ्य, प्रमाण र वस्तुनिष्ठ आधारबाट खुलेका प्रमाणसहित पहिलो चरणको प्रतिवेदन पेस गरिएको हो । अनुसन्धान सकिएको छैन । फरार रहेका तथा अनुसन्धानबाहिर परेकालाई दोस्रो चरणमा कानुनको कठघरामा ल्याइछाड्छौं ।’ एआईजी बज्राचार्यले सुन तस्करीमा चीन, हङकङ, मकाउ, ताइवान, दुबई, भारत, नेपाललगायतका मानिस संलग्न रहेको बताइन् ।

सुन तस्करले नेपालमा प्रभावशाली व्यक्तिहरूकै सम्बन्ध/सम्पर्कको आड लिएर अपराधको सञ्जाल चलाउने गरेको पुष्टि भएको बताइन् । ‘संगठित गिरोहको योजनामा तीन वा सोभन्दा बढी व्यक्तिहरूको आपराधिक समूह खडा गरी सिलसिलाबद्ध गोप्य र सीमित सदस्यहरू आवश्यकता अनुसारको सूचना प्रवाह गरी/गराई अन्तर्राष्ट्रिय रूपमा हङकङदेखि नेपालसम्म र नेपालबाट भारतसम्म संगठन विस्तार गरी र समन्वय सम्बन्ध राख्दै आपराधिक लाभका लागि सदस्यहरूबीचमा फरक–फरक जिम्मेवारी दिई/लिई सोहीअनुसार परिचालन र परिचालित भई इलेक्ट्रिक सामानहरू तथा अटो पार्ट (ब्रेक–सु) हरू आयात गर्ने भनी विभिन्न कम्पनीहरू एकै उद्देश्य राखी खडा गरी सोही कम्पनी नाममा फरक–फरक मालवस्तुहरू फरक–फरक कम्पनीलाई प्रयोग गरी हङकङबाट फरक–फरक मालवस्तुमा सुन लुकाईछिपाई ल्याएको पुष्टि हुन आयो,’ सीआईबीले सरकारी वकिलमा बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘अवैध तरिकाले आफूहरूलाई आपराधिक लाभ प्राप्त गर्ने योजनामा हङकङबाट नेपालमा भित्र्याई सुनलाई विभिन्न आकार तथा परिमाणमा गाली अवैध र गैरकानुनी तवरले बिक्री गरी अवैध अर्थोपार्जन गर्ने र सरकारलाई हानि/नोक्सानी पुर्‍याई पिरामिड शैलीमा सुन नेपाल र भारतसम्म बेचबिखन गर्ने गरेको देखियो ।’

सीआईबीले सुरुमा बरामद ६० केजी ७ सय १६ ग्राम सुन भएका ब्रेक–सुको अनुसन्धान गर्दा थप बरामद सुबाट ३ सय २ केजी ६२ ग्राम सुन निकालिएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । सीआईबीले बरामद भएको र तस्करले गन्तव्यमा पुर्‍याएका सुनको बजार मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम गरेर बिगो मागदाबी लिन भनेको छ । यस्तै अवैध सुन ल्याउन प्रयोग भएका ब्रेक–सुको भन्सारमा घोषणा गरिएको मूल्य र करसमेत गरी थप २८ लाख ७५ हजार ४ सय २३ रुपैयाँ पनि बिगोकै रूपमा राख्न भनेको छ ।

सीआईबीले अनुसन्धानमा परेकामध्ये २५ र फरार १८ लाई प्रतिवादी बनाएर मुद्दा चलाउने गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ३२ जना पक्राउ परेकामध्ये तस्करीमा संलग्न नरहेका र आपराधिक समूहबाट लाभ नलिएका तर सम्पर्क भेटिएका ७ जनालाई मुद्दा नचलाउन राय दिइएको छ । सुन बोक्न प्रयोग गरिएको ट्याक्सीका चालक अशोक लामा, कमिसन लिएर चिनियाँलाई घर खोज्ने काममा संलग्न नरेश तामाङ, ट्रान्स ग्लोबलका सञ्चालक राजनकुमार श्रेष्ठ, विमानस्थल भन्सारका उपसचिव श्रीधर टण्डन, भन्सार अधिकृत पुष्पा जोशी, नासु कमल परियारको तस्करसँग सम्बन्ध रहेको तथ्य र प्रमाणले नदेखिएकाले उनीहरूको हकमा पछि थप अनुसन्धानबाट खुलेबमोजिम हुने गरी मुद्दा नचलाउन राय दिइएको छ ।

सीआईबीका अनुसार भन्सारका ५ कर्मचारीसमेत प्रतिवादीको सूचीमा छन् । कृष्णकुमार श्रेष्ठ, दिलीप भुजेल, कुमार ढकाल (कर्मचारी), पुष्करराज भट्ट, सन्तोष चन्द, (कर्मचारी) सरोज श्रेष्ठ (कर्मचारी), गणेशप्रसाद पौडेल (कर्मचारी), यादव पराजुली, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, सुदर्शन गौतम, हर्कराज राई, किशोर बस्नेत, वीरेन्द्र नेपाली (कर्मचारी), सुमन खरेल, शिवकुमार सर्राफ, विदेशी नागरिकहरू तिब्बती मूलका भारतीय छिरिङ थुप्तिन, चिनियाँ नागरिकहरू अली भनिने ली वेन सुङ, लिन जिक्वाङ, योङ वेन, मी तियान, स्टेप्स भन्ने ली नेङकाई, सरतेन भन्ने दिङ सेङफा, चिनियाँ मूलका बेल्जियन नागरिकद्वय एलेक्स भन्ने याओ फुचेङ र दावा छिरिङविरुद्ध मुद्दा चलाउन भनिएको छ । तस्करीको सुनबाट प्राप्त पैसा दावा छिरिङ, दावाजिन वाङ, शिव सर्राफ, सुमन खरेल र एलेक्समार्फत विभिन्न डिजिटल मुद्रामार्फत भुक्तानी र व्यवस्थापन हुने गरेको भेटिएको छ । तस्करीमै संलग्न तर हाल फरार सूचीमा रहेका भोला साह (सोनार), जीवन चलाउने, सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोका, चिनियाँहरू जोङ जियानहुवा, साम भन्ने झोङ जिङछुवान, पेङ लिङ फेङ, दावाजिन वाङ, आसीन भन्ने पेङ योङ सिन, पूरा नाम नखुलाइएका ली, लीन, माइकल झाङ, एरिक माओ, टेडी, लुओरोङ गोंबु, बिङ, भारतीय नागरिक राकेश सिंह, राजु माडवारी र योगी इन्टरप्राइजका सञ्चालक ब्रिस्लेरी वाला पनि प्रतिवादी छन् ।

मुद्दा चलाउन सिफारिस गरिएका र हाल प्रमाण नपुगेको भन्दै उन्मुक्ति पाएकामध्ये सार्वजनिक पद धारण गरेकाको हकमा अख्तियार दुपयोग अनुसन्धान आयोग र बाँकीको हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट थप अनुसन्धान गर्न भन्दै ती निकायमा लेखी पठाउन सीआईबीले राय दिएको छ । सुन ल्याउन गिरोहले विपन्न व्यक्तिलाई प्रलोभन दिएर काठमाडौंमा छुङगाक इलेक्ट्री सप्लायर्स, भुजेल इलेक्ट्रिक, ह्वादा इलेक्ट्रिक, पवाटी इलेक्ट्रिक, दोलखा इलेक्ट्रिक, रेडी ट्रेड र सरिता सप्लायर्स स्थापना गरेको पनि भेटिएको छ । एउटा फर्म खोलेबापत प्रतिफर्म १ लाख ५० हजार रुपैयाँसम्म दिएर तस्करले सुन लुकाइएका विद्युतीय र अन्य सामान भित्र्याउने गरेको पनि पाइएको छ ।

भुजेलले बयानमा भनेका छन्, ‘कम्पनी दर्ता गर्दा इलेक्ट्रिक सामान ल्याउनका लागि कम्पनी खडा गरेको भनी हर्कराज राईले भनेका थिए, त्यसबापत डेढ लाख पाउने कुरा गरेका थिए । मेरो नाम राखी किर्ते कागज निज हर्कराज राईले तयार गरी पेस गरेका हुन् । मैले अरूलाई चिनेको पनि छैन ।’ चिनियाँ सुन तस्कर अली भन्ने ली वेन सुङले हालसम्म आफूसमेतको संलग्नतामा १ सय ३३ पटक हङकङबाट सुनसहित सामान आएको बयान दिएका छन् । आफूले महिनाको १० हजार चिनियाँ मुद्रा पाउने गरेको र कहिलेकाहीं क्यासिनोमा गएर जुवा पनि खेल्ने गरेको स्वीकार गरेका छन् । तस्करीको सुन व्यवस्थापन गर्न र आफू हिँडडुल गर्दा प्रयोग गर्ने गाडीमा जीपीएस जडान गरिएको र त्यसबाट को–कहाँ जाने गरेको भन्ने पनि थाहा हुने गरेको बयान दिएका छन् । चिनियाँ तस्करका सहयोगी छिरिङ थुप्तिनले बयानमा आफूले २ लाख रुपैयाँ लिएर घर खोज्ने, कम्पनी खोल्ने र भन्सारबाट गाडीमा सामान तोकिएका ठाउँसम्म पुर्‍याउने भूमिकामा रहेको स्विकारेका छन् ।

यी फर्मबाट १ वर्षमा साढे ३ अर्ब बढीको सुन भित्रिएको अनुसन्धानबाट पुष्टि भएको हो । सीआईबीले सुन निकालिएका ब्रेक–सु मात्रै १ हजार १ सय ८० थान र सुन गाल्ने १० थान मेसिन बरामद गरेको छ । सुन तस्करी गर्नकै लागि २०७९ चैत १९ मा दिलीप भुजेलका नाममा रेडी ट्रेड फर्म दर्ता गरिएको थियो । ब्रेक–सु, इलेक्ट्रिक आइटमलगायत सामान ल्याउने भन्दै खोलिएको फर्मबाट तस्करले सुन लुकाएर ल्याउने गरेको भेटिएको थियो । सीआईबी प्रमुख बज्राचार्यले सुन तस्करी नियन्त्रण गर्न स्टेक होल्डरबीच समन्वय र सहकार्य अनिवार्य रहेको बताइन् ।

माओवादी नेताहरूको संरक्षणमा रहेका भण्डारीको बयान

०७५ सालको मंसिर/पुस महिनातिर म ऊर्जा मन्त्रालयमा मन्त्री वर्षमान पुनको निजी सचिवालयमा नासु पदमा कार्यरत रहँदा चिनियाँहरू हाइड्रोको विषय लिएर आएका थिए। त्यही बेला दावा छिरिङसँग चिनजान र मोबाइल नम्बर आदानप्रदान भयो। त्यसपश्चात् दावासँग फोन र विच्याटमा कुरा हुने गरेको हो। मैले ०७६ चैतमा नोकरीबाट राजीनामा दिई निस्केपछि दावासँग व्यावसायिक कुरा हुन थाल्यो। अमला रोकामगर दावाकी श्रीमती हो भनेर ३ वर्षअगाडि चिनेको हो तर दुई वर्षदेखि सम्पर्क छैन। मञ्जिल श्रेष्ठसँग कोभिडको समयमा करिब पाँच सय जनाभन्दा बढी चिनियाँ नागरिकको कोभिड टेस्ट गर्दा चिनजान भएको हो। मञ्जिलले मसँग कोभिड टेस्टको कमिसन माग्नका लागि धेरै पटक फोन सम्पर्क गरेको थियो। पछि सम्पर्क भएन। दावाले मलाई सिंगापुरमा कम्पनी खोल्ने प्रस्ताव गरेको थियो, मैले मानिन। नागढुंगामुग्लिन सडकको ठेक्काको सिलसिलामा उक्त कुराकानी भएको हो। राहुल महरासँग अर्थ मन्त्रालयमा काम गर्दा चिनजान भएको हो। पछि पनि फेसबुक र मोबाइल नम्बर ९८५११११८८८ मा सम्पर्क भइरहन्थ्यो। ओनसरी घर्तीमगरसँग ऊर्जा मन्त्रालयमा काम गर्दा चिनजान भएको हो, पछि पनि राजनीतिक तथा वर्षमान पुनको स्वास्थ्य अवस्थाको विषयमा कुराकानी भइरहन्छ। रमेश शेर्पाको कम्पनी स्किल मार्केट प्रालिसमेत रहने गरी कृषि सामग्री कम्पनी लिमिटेडको युरिया सप्लाईका लागि ठेक्का हालेका थियौं सो ठेक्काको फाइदाबापत निजको भागमा पर्ने १० करोडको चेक सम्झौता गरिदिएको हो। म चीनबाट सामान आयात गरी नेपालमा बेचबिखन गर्ने गर्छु। करिब ४ वर्षसम्म उक्त कामका लागि क्यान्सु भन्ने चाइनिज केटीले कमिसन लिई सहयोग गरेकी थिइन्। रमेश मल्लसँग करिब ५ वर्ष अगाडिदेखिको चिनजान हो। निजसँग कहिलेकाहीं व्यापारिक रूपमा मैले गरेको कामका बारेमा सहजीकरण माग्ने गरेको छु। निजसँग भएको कुरा जनक शिक्षा सामग्री केन्द्रको पेपर सप्लाईको विषयमा कुरा भएको हो

झलकराम अधिकारीको बयान

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा कार्यरत रहँदाको अवस्थामा केही राजस्व चुहावटसम्बन्धी सूचना छ भनी भेट्न आएकाले दावा छिरिङलाई देखे/चिनेको हो । मेरो र निज दावा छिरिङबीचमा सन् २०२१ जुन २१ मा सम्पर्क भएको हो । निजले विच्याटमा पनि केही चिनियाँ नागरिकहरूले अनलाइन जुवा खेलाई राजस्व चुहावट गरेको सम्बन्धी सूचना दिन्छु भनेका थिए । सोही सन्दर्भमा च्याटमा कुराकानी भएको थियो । म कर प्रशासनमा २०७३ देखि काम गर्दै आएको र राजस्व चुहावटसम्बन्धी आधिकारिक सूचनाहरू प्राप्त हुँदा सम्बन्धित निकायमा जानकारी गराउने मेरो पेसागत कर्तव्य हो 

दीपेश पुनको बयान

मैले पक्राउ परेका दावा छिरिङलाई चिन्दछु । कहिलेकाहीं फोन सम्पर्क हुने गरेको थियो । हामीबीच केही कारोबार छैन, अमला रोका मेरो गाउँको भएको, निज सहिद परिवारको भएको साथै माओवादी पार्टीको रोल्पा काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष भएकाले सम्पर्क, भेटघाट, चिनजान भएको हो । दावा छिरिङसँग सामाजिक सञ्जालमा आएअनुसारको मेरो कुनै प्रकारको कारोबार छैन र निजले गरेका कुनै पनि आपराधिक कामकारबाहीमा मेरो संलग्नता छैन । अनुसन्धान गर्न मोबाइल परीक्षणका लागि पेस गरेको छु । यो समाचार कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा