काठमाडौँ, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम् जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ ।
इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरुप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए ।
सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेसलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।