चौलागाई प्रतिष्ठानको तीज विशेष कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौँ, २३ भदौ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितीको आयोजनामा आज तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।

हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।

तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् ।

श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात् नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।

यसै क्रममा प्रतिष्ठानले आज भक्तपुरमा एक कार्यक्रम गरी तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कर्णाली प्रदेशको उपसभामुख याशोदा चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै उपसभामुख चौलागाईले प्रदेशसभामा आफुलाई थप ठूलो जिम्मेवारी प्रदान भएको उल्लेख गर्दै आगामी दिनमा जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । थप जिम्मेवारी आम कर्णालीवासीको साथ साथै चौलागाई प्रतिष्ठानको लागि समर्पित हुने प्रतिवद्धता जनाउँदै उहाँले कार्यक्रम सफताको शुभकामना व्यक्त गर्नुभयो । प्रतिष्ठानले उपसभामुख चौलागाईलाई सम्मानसमेत गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष डा रमेश प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा एक सय २० जनाभन्दा बढी चौलागाई महिलाहरुको सहभागिता रहेको प्रतिष्ठानका उपमहासचिव बाबुराम चौलागाईले जानकारी दिनुभयो । त्यस्तै प्रतिष्ठानले हालसम्म गरिएका कार्यप्रगति तथा आगामी दिनको कार्ययोजनाको बारेमा समेत उपमहासचिव चौलागाईले जानकारी गराउनुभयो ।

कतिपय अवस्थामा नेपालीहरुले मनाउने चाडवाडमा हुने विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउँदै कार्यक्रम आयोजना गरिएको बरिष्ठ उपाध्यक्ष देवेन्द्र चौलागाईले बताउनुभयो । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य रहेको उहाँले बताउनुभयो । कार्यक्रम मेनुका चौलागाईको संयोजनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्