काठमाडौँ, १० भदौ । देशभरिका अदालतमा सबैभन्दा बढी मुद्दा कुन विषयका होलान् ? सम्बन्ध विच्छेद अर्थात् पारपाचुके।
सम्बन्ध विच्छेद भनेको विवाहित पति र पत्नी विभिन्न कारणले सँगै बस्न नसकेर कानूनी रूपमा छुटिभिन्न हुनु भन्ने बुझिन्छ। नेपालमा तथ्यांक हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन् । २०७९ सालको तथ्यांकले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत पारपाचुकेका छन् । पारपाचुकेको मुद्दा गत वर्षदेखि एक नम्बरमा पुगेको हो। यसले नेपालमा पारिवारिक विखण्डन बढ्दै गएको भन्ने बुझ्न सकिन्छ।
आव २०७९/८० को तथ्यांक हेर्दा देशभरिका जिल्ला, उच्च र सर्वोच्च अदालतमा गरी ३७ हजार ४ सय ३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका थिए । त्यसमध्ये २७ हजार ७८ वटा मुद्दा छिनिएका छन् । २०८० साउनयता १० हजार ३ सय ५६ जनाका सम्बन्ध विच्छेदका मुद्दा छिन्न बाँकी छन् । जिल्ला, उच्च, सर्वोच्चमा दर्ता भएका पारपाचुकेका मुद्दामा दैनिक सरदर १ सय २ जोडी छुटिभिन्न हुन अदालत पुग्ने गरेका छन् ।
देशभरि छिनिएका मुद्दाको संख्या हेर्दा सरदरमा दैनिक करिब ७४ जोडीले अदालतबाटै कानूनी रूपमा सम्बन्ध विच्छेदको प्रमाणपत्र लिने गरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै जिल्ला अदालतहरूमा दर्ता हुने गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।