काठमाडौँ, ७ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सस्तो लोकप्रीयताको लागि गरेको निर्णय एक महिना पनि टिक्न नसकेको बताउनुभएको छ ।
सभापति लामिछानेले संसद नचलेको बेलामा आफ्ना सांसदहरुको तलब भत्ता नलिने निर्णय गरेका थिए । उक्त निर्णयबाट पछि हट्दै स्वतन्त्र पार्टीका सांसदले संसद अवरुद्ध भएको चार दिनको भत्ता नलिने तर गाडी भाडा भने लिने भएका छन् । सोही प्रशंगलाई नेता बस्नेतले सभापति लामिछानेले सस्तो लोकप्रीयताको लागिमात्र भएको स्पष्ट पार्नुभयो । देशमा आर्थिक मन्दि चरम रुपमा बढ्दै गएको समयमा तलब समेत घटाउनुपर्ने देखिएको उल्लेख गर्दै उहाँले रवि लामिछानेको नाटक धेरै दिन टिक्न नसकेको बताउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘संसद नचलेको बेला आफ्ना सांसदहरुको तलब भत्ता नलिने रवि लामिछानेको नाटक धेरै दिन टिकेन । चार दिनको भत्ता मात्र नलिने त्यसमा पनि गाडी भाडा चाँही लिने भएछन् । नाटक पनि कुन हदसम्म गर्न सक्छन् रवि जी ? देशमा यस्तो आर्थिक मन्दी देखिएको बेला सबै सांसदले तलब भत्ता घटाउनु पर्छ भन्नु पर्नेमा सस्तो लोकप्रीयताको लागी गरेको निर्णय एक महिना पनि टिकेन । करिब १ महिनाको तलव १ लाख घटाउने गरी संसद सचिवालयले उठाएको टिप्पणी ४ जना साँसद गएर खारेज गरी चार दिनको भत्ता नलिने त्यसमा पनि गाडी भाडा चाहिँ लिने गरी ४ दिनको ४ हजार त्याग गर्ने गरी प्रकृया अगाडी बढाए छन् । वा रवि जी वा रास्वपा ! रास्वपा एउटा पार्टी भित्र १०/१२ वटा पार्टी बोकेको हिड्न नसक्ने पार्टी हो ।’