काठमाडौँ, ७ भदौ । राष्ट्रिय महिला आयोगको प्रवक्ताको जिम्मेवारी आयोगको सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई दिइएको छ ।
आयोग पदाधिकारीको बैठकले खतिवडालाई आज औपचारिक रुपमा जिम्मेवारी दिइएको छ । यस अघिको प्रवक्तालाई जिम्मेवारीबाट मुक्त गराई नयाँ प्रवक्तामा खतिवडालाई जिम्मेवारी तोकिएको छ । आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सदस्य खतिवडालाई प्रवक्ताको औपचारिक रुपमा जिम्मेवारी प्रदान गरी कार्यसफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रवक्ता खतिवडाले आयोगको हितमा रहेर नविनतम सोचका साथ जिम्मेवारी पुरा गर्नुहुनेमा आफु विश्वस्त रहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
प्रवक्ताको जिम्मेवारी लिँदै खतिवडाले आयोगका सम्पूर्ण पदाधिकारीको साथ र सहयोगका साथमा सदैव सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । आयोगको हितमा नै आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने उल्लेख गर्दै उहाँले प्रवक्ताको भूमिकालाई सम्पूर्ण नागरिकको सामु कानुन, ऐन तथा संविधान अनुसार अक्षरस पालना गरी अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्नुहुने आयोगका सम्पूर्ण पदाधिकारीलाई विशेष धन्यवाद व्यक्त गर्दछु । आयोग र आम नेपाली महिलाको हितको पक्षमा रहेर काम गर्न आजदेखी मलाई थप जिम्मेवारी प्राप्त भएको छ । मेरो जिम्मेवारी संविधानले प्रदान गरेको सूचनाको हकलाई आयोगमा व्यवस्थित गर्नका लागि हुनेछ । आयोगका वस्तुस्थितीलाई पदाधिकारीको सल्लाह अनुसार प्रवक्ताको काम, कर्तव्य र अधिकार बमोजिम नै सम्पूर्ण कार्यहरु अगाडी बढ्नेछन् । असम्भव, असहज, अविश्वास भन्ने कुरा हामीमा छैन । समस्यालाई समाधान गरी नेपाली महिलाको पक्षमा आयोग हिड्ने मात्र हैन, अब दौडिने छ । सम्पूर्ण महिलाहरुको अभिभावक राष्ट्रिय महिला आयोग हो भन्ने कुरा अझ बढी प्रमाणित गरेर छाड्छौं । घरघर टोल टोलबाट महिला हिंसालाई अन्त्य गर्न आयोग कटिवद्ध छ । यसको लागि आजको मलाई प्राप्त जिम्मेवारीले थप मेरो भूमिका विशेष र प्रभावकारी हुनेमा विश्वास दिलाउन चाहन्छु ।’
