कठमाडौँ, ७ भदौ । सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधन स्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ । पछिल्ला दिनमा जल तथा मौसमको सूचना संकलनका लागि देशव्यापी रुपमा जडान गरिएका उपकरणका कारण पनि वास्तविक सूचना प्राप्त भइरहेको उल्लेख गर्दै सरकारले त्यसलाई थप व्यवस्थित बनाउने भएको हो ।
जल तथा मौसम विज्ञान विभागको अवलोकन तथा निरीक्षणका लागि पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागलाई थप साधन र स्रोतले सम्पन्न बनाउने र मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउने बताए । बाढी तथा पहिरोको पूर्वानुमानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति रोकिएको र आम जनतामा थप सूचना प्रवाहका लागि विभागले गरिरहेको काम कारबाहीको मन्त्री बस्नेतले प्रशंसा गरे । मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण देशव्यापी रुपमा मौसममा अनेकन खालका समस्या बढ्दै गएकाले त्यसबाट जोगिन पूर्वतयारीको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।