काठमाडौँ, १ भदौ । सुन तस्करीको आरोपमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवैजनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको साउन ३१ गते पनि ब्युरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए । रासस