हुम्ला, १३ साउन । हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने तीन वटा गाउँ बाढी र पहिरोले घेरिएको छ ।
वडा नम्बर २ को रिप, ६ को जिउँसी र ८ को एउटा गाउँ गत रातिदेखिकाे अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको हो ।
गाउँपालिका उपाध्यक्ष चन्द्र कार्कीका अनुसार त्यहाँका नागरिकहरू त्रासमा बसिरहेका छन । राति ११ बजेबाट सुरु भएको वर्षा अहिलेसम्म पनि रोकिएको छैन । वरिपरिका खोला नालाहरू बढेर गाउँ पसेका छन् भने खोलामाथि बनाइएका काठे पुलहरू बगेका छन् । अहिलेसम्म मानवीय क्षति अहिले नभए पनि बस्ती उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।
खोलामा रहेका काठे पुल बगाउँदा मान्छेहरू बस्तीबाहिर आउन नसकेको उनले बताए । पानीले जग्गा जमिन बग्न थालेको छ। यता नागरिकलाई स्थानान्तरणका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रदेश सरकारका कानुन मन्त्री कृष्ण जिसीले बताए । बस्ती स्थानान्तरण लागि सुरुमा ठाउँहरुकाे खोजी गरिने र त्यसपछि मात्र स्थानान्तरणका लागि पहल थालिने उनले बताए ।