काठमाडौँ, १२ साउन । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ ।
केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ ।
सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् । पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ ।
दोस्रो चरणलाई समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनिएको छ ।