वीरगञ्जमा खानेपानीको हाहाकार

पर्सा, १२ साउन । खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कामलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न ठाउँमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । 

महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । बिहान ५ बजेदेखि राति ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मेयर सिंहको भनाइ छ ।

ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सात वटा वडाको विभिन्न ठाउँमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ । यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक ठाउँमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ । खानेपानीको पाइप लाइन वडा नम्बर १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक ठाउँमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिनुभयो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । 

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ । महानगरभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेका नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख ई. नीरन महर्जनले जानकारी दिनुभयो ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घन्टा धारामा पानी पठाउँदै आएको छ । ‘पहिला चापाकलबाट पानी आउँथ्यो, त्यति बेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्’, उहाँ भन्नुहुन्छ, ‘तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।’ धारा लिन आउनेलाई ग्राहक बनाएर धारा दिइरहेको उहाँको भनाइ छ । एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगञ्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख ई. महर्जन बताउनुहुन्छ ।

वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनासमेत अघि बढाएको उहाँको भनाइ छ । ‘हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ’, प्रमुख महर्जनले भन्नुभयो, ‘यो सम्झौताअनुसार वडा–वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता गठनलगायतको प्रक्रिया शुरु गरिसकेका छौँ । छिट्टै त्यो काम गर्छौँ र खानेपानी पुर्‍याउँछौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार