काठमाडौँ, १० साउन । नेकपा एमालेले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भनेर प्रश्न गरेको छ ।
आज बुधवारको संसद् बैठकको शुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले गएको पुसमा इलेक्ट्रिक सिगरेटभित्र आएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनको छोराको नाम विभिन्न सञ्चारमाध्यममा आएको तर उनीहरूमाथि छानबिन नभएको भन्दै आपत्ति जनाए । उनले सरकारकै संरक्षणमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको पनि आरोप लगाए ।
गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन । गृहमन्त्रीले भाषण एउटा गर्ने तर तस्करको संरक्षण गर्ने गरेर दोहोरो भूमिका खेलेको भन्दै उनले राजीनामा मागे ।