काठमाडौँ, ६ साउन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन् ।
हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो । भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो ।
ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो । तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो । शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्याएको स्रोत बताउँछ । रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो । जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो । यस्तै खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्छ। तर पनि उनले सुन देखेनन् । त्यस्तै भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ । त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो । तर उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको हो ।
‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए । उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो । रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न । उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो । त्यो गरेको देखिएन । त्यसपछि पनि यसलाई हेर भनेर सम्बन्धित अधिकृतलाई बुझाउनुपर्छ । आफू पनि सँगै बस्नुपर्छ । सिसिटिभीमा हेर्दा कुमारले दुई वटा बक्स खोलेर हेरेको देखिन्छ। तर ब्रेक शुमात्रै देखेपछि उनले पठाइदिए । उनले पुन: एक्सरेबाट हेर्नुपर्थ्यो हेरेनन् ।’
यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ । जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन् । सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ ।