काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीभित्रको अन्तरकलह नै पार्टीका लागि खतरा भएको बताएका छन् ।
आज केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेसलाई नयाँ वा पुराना दलबाट भन्दापनि कांग्रेसबाटै बढी खतरा भएको बताए । उनले भने, “कांग्रेसलाई अहिले नयाँ वा पुराना अन्य दलहरूबाट खतरा छैन । बरू हाम्रै अन्तरकलहबाट हामीलाई जोखिम छ ।
केन्द्रीय सदस्य विश्वकर्माले कांग्रेस कुनै संकट वा खतरामा नभएर अलमलमा रहेको पनि बताए । नेताहरूले बोल्नेक्रममा पार्टी संकटमा पुगेको भनेर उठेका विषयमाथि उनले पार्टीका नेताहरू आफैँले संकटमा पुर्याएको भन्दै अफवाह फैलाउन नहुने बताए ।
“हामी कुनै जोमिख वा खतरामा वा संकटमा भएको जस्तो लाग्दैन । बरू हामी अलमलमा भएको जस्तो लाग्छ,” उनले भने, “वास्तवमा हामी अहिले सबै तहको सत्तामा छौँ, काम गर्ने ठाउँमा छौँ । यो बेला हामीले राम्रो काम गर्ने हो । काम गर्न छोडेर हामी सक्कियौँ भनेर अब सक्कियाँ”, कमजोर भयौँ भनेर हिँड्ने होइन । अहिले यहीनेर अलमलमा भएकोजस्तो लाग्छ ।”