भक्तपुर, ४ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमालेका नेता तथा कार्यकर्तालाई पाँच वटा ‘स’को कार्यभार पुरा गर्न निर्देशन दिनुभएको छ ।
एमाले सूर्यविनायक नगरपालिका वडा नं. ४ कमिटी, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठन, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, लोकतान्त्रिक जनजाती आदिवासी संघलगायतका कमिटीहरुले संयुक्त रुपमा आयोजना गरेको पुष्पलाल स्मृति दिवसको अबसर पारेर आज दधिकोट बिर्खमानेको पसलदेखि पात्लेटार चोकसम्म सडकको दायाँ बायाँ वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेका नेता तथा कार्यकर्ताले सिद्धान्त, संघर्ष, संगठन, सिर्जनशीलता र समृद्धिको कार्यभार पुरा गर्न नेतृत्वदायी भूमिका एमालेको नेता तथा कार्यकर्ताको काँधमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पुष्पलालले दिनुभएको सन्देश सिद्धान्त, संघर्ष, संगठन हो । त्यसमा सिर्जनशिलता जनताको जनवादमा मदन भण्डारीले थप्नुभयो । त्यसमा समृद्धि केपी शर्मा ओलीले थप्नुभयो । त्यसैले नेकपा एमालेका कार्यकर्ताहरुले सिद्धान्त, संघर्ष, संगठन, सिर्जनशीलता र समृद्धि नै कार्यभार हो ।’
भक्तपुरको समृद्धिलाई सजाउने कार्य एमालेले गरिरहेको उल्लेख गर्दै उहाँले उज्यालो सूर्यविनायकबाट सिकेर उज्यालो देश भन्न शुरुवात भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगत छ वर्ष अघिसम्म नगरपालिका क्षेत्र अधिकांस सडकहरु गोरेटोमात्र भएको र कुनै सवारी साधानहरु आउन नसक्ने अवस्थाका थिए । सडकलाई हरियाली, सौन्दर्यिकरण गर्ने कुने योजना नै थिएन । जब एमालेले तीनवटै तहमा जित्यो, त्यसपछि भक्तपुरको ऐतिहासिक विकास र समृद्धिको यात्रा शुरु भयो । एमालेको नेतृत्वमा भक्तपुरमा सवै सडकहरु निर्माण भए । र अहिले उक्त सडकहरुको दायाँ बायाँ वृक्षारोपण, सौन्दर्यिकरण, सडकबत्ती दर्घटना नियन्त्रणका कार्यहरु गरेका छौं । अब अपाङ्गमैत्री सडक निर्माण गर्न बजेट व्यवस्था गर्ने अन्तिम चरणमा पुगेका छौं । त्यसैले भक्तपुरमा एमालेले गरेको वृक्षारोपण कार्यक्रम भनेको समृद्धिमा सजाउने कार्य हो ।’
विभिन्न तरिकाले एमालेलाई हराउने जनप्रतिनिधिलाई जनताले असंख्य प्रश्नहरु गर्ने गरिरहेको उल्लेख गर्दै उहाँले एमालेले गरेका कामहरुलाई खोट लगाउने ठाउँ नपाएपछि मानसिक रुपमा विछिप्त भएकाहरुलाई विभिन्न बहानामा एमालेविरुद्ध मुद्धा हाल्न लगाएर बस्ने गरेको भन्दै आक्रोस जनाउनुभयो ।
‘एमालेले जनताको सेवा गर्ने बाहेक अन्य केही जानेको छैन’, उहाँले भन्नुभयो, ‘एमालेविरुद्ध जतिसुकै खेताला, गोठाला तथा जतिसुकै पैसा खर्च गरे पनि र जतिपनि मुद्धा हालेपनि एमालेको छेस्कोसमेत भाँच्न सक्दैनन् । जनप्रतिनिधिहरु कुन दुलोमा लुकेर बसेको छन् ? भनि जनताको प्रश्न रहेको छ । हाम्रो जनप्रतिनिधिहरु न त सडकमा देखिन्छन्, न त सदनमा नै देखिन्छन् । न जनताको सुख दुखमा देखिन्छन् । न जनताको अप्ठ्यारोहरुमा देखिन्छन् । न विकास निर्माणका गतिविधिहरुमा देखिन्छन् ।’ कार्यक्रममा बागमती प्रदेश सदस्य तथा एमालेका युवा नेता किरण थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, राष्ट्रिय युवा संघको केन्द्रीय उपाध्यक्ष सीता सुवेदी, भुतपूर्व सैनिक तथा प्रहरी संगठनका जिल्ला अध्यक्ष रञ्जन खड्का, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।