एजेन्सी, २४ असार । अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न आग्रह गरेको छ । चीन भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा वासिङ्टन र बेइजिङले आपसी मुद्दामा सोझै सम्वाद गर्नुपर्ने बताउनुभएको हो ।
पछिल्लो तनावकाबीच दुई देशले सन् २०२२ मा द्विपक्षीय व्यापारमा कीर्तिमान कायम गरेको तथ्यलाई ध्यानमा राखेर पारस्परिक व्यापार र लगानीमा संलग्न हुने पर्याप्त ठाउँहरु रहेका अर्थमन्त्री येलेनको भनाइ छ । उहाँले विश्वका दुई ठूला अर्थतन्त्रबीचको सहकार्यमा जोड दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
चीनको चारदिने भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्रीले दुई देशबीचको तनावलाई मत्थर गर्ने वासिङ्टनको चाहना रहेको भन्दै आपसी साझेदारी बढाउने प्रयास गर्नुभएको छ । चिनियाँ उपप्रधानमन्त्रीले गएको नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र समकक्षी सी जिनपिङबीच भएको भेटवार्तापछि चीन–अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासलाई वासिङ्टनबाट बेवास्ता भएको बताउनुभएको छ । उहाँले दुई राष्ट्रप्रमुखबीच भएको सहमति कार्यान्वयनमा केही समस्या खडा भएकोतर्फ चिन्ता व्यक्त गर्नुभएको छ ।
सामान्य विषयलाई लिएर दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न हुन नहुनेतर्फ चिनियाँ उपप्रधानमन्त्रीले जोड दिनुभएको छ।