भक्तपुर, २३ असार । नेप्सेम्याक सेवा प्रालिले आफ्नो सदस्यताहरुलाई निशुल्क कम्पोष्ट मल वितरण गरेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ४ हर्षचोक स्थित ॐ सृजनशिल समाजको आयोजनामा नेप्सेम्याकको सहयोगमा आज आयोजना गरिएको ‘समुदायमा आधारित जनचेतनामुलक सरसफाई तथा कम्पोष्ट मल वितरण’ कार्यक्रममा आफ्ना प्रत्येक सदस्यहरुलाई निशुल्क पाँच केजीको कम्पोष्ट मल वितरण गरेको छ । सदस्यता तथा फोहोर वर्गिकरण गरेवापत वार्षिक रुपमा प्रति सदस्य पाँच केजी मल वितरण गर्ने योजना अनुसारका आज एक सय ५० सदस्यलाई मल वितरण गरिएको छ । त्यस्तै उक्त स्थानमा तत्कालै आठ सय सदस्यलाई निशुल्क मल वितरण गर्ने नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौलागाईले जानकारी दिनुभयो ।

उक्त समाजमा तथा टोलमा आठ सय परिवारमा १७ सय ९५ जना किचनमा फोहोर वर्गिकरणका कार्यहरु भइरहेको संस्थाका सञ्चालक गोविन्द आचार्यले जानकारी दिनुभयो । समाजका सदस्यहरुले घरबाट नै कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरी आफै मल उत्पादन गरेमा नेप्सेम्याकमा आवद्ध सदस्यलाई २५ प्रतिशत छुटको व्यवस्था गर्ने बताइएको छ । समाजका सदस्यहरुलाई फोहोरबाट कम्पोट मल बनाउने तालिमको व्यवस्था गर्ने नेप्सेम्याकले प्रतिवद्धता समेत जनाएको छ ।

‘सफा सहर, सभ्य नागरिक र स्वस्थ समाज’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा फोहोरको दिगो व्यवस्थापनमा जोड दिइएको छ । फोहोर व्यवस्थापन नै मानिसको जीवन व्यवस्थापन भएको भन्दै आफ्नो घर वरिपरिको सफाई आफैले गर्नुपर्नेमा जोड दिइएको छ । उक्त क्रममा हर्षचोकदेखी दक्षिणबाराही मन्दिर हुँदै ॐ सृजनशिल समाजभित्रका केही भागमा सरसफाई समेत गरिएको थियो । सरसफाईका क्रममा जनचेतनामूलक कार्य तथा सन्देशहरु दिइएको थियो ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लक्षुराम न्यौपानेले मानिसले घरघर तथा मनमनबाट सरसफाई सम्बन्धी भावनाको विकास गर्नुपर्ने बताउनुभयो । फोहोरलाई मोहरका रुपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उहाँले कैसी खेती, करेसावारीलगायतका कृषीजन्य उत्पादनमा आफैले फोहोरबाट मल उत्पादन गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । फोहोर व्यवस्थापनमा वडाले नीजि क्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले उपत्यकामा दैनिक १५ सय टन फोहोर निस्कने जानकारी दिँदै उपत्यकामा करिव ८० प्रतिशत फोहोर व्यवस्थापन नीजि क्षेत्रले गर्ने गरेको जानकारी गराउनुभयो । आफ्ना सदस्यलाई प्रोत्साहन स्वरुप कम्पोष्ट मल निशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजका अध्यक्ष अर्जुन केसी, समाजका सल्लाहकार पेशल आचार्य, समाजका पदाधिकारी, क्लाम्पहुकका प्रिन्सिपल जनक लम्साल, नेप्सेम्याकका कर्मचारी तथा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।