काठमाडौँ, २१ असार । आईएमई लाइफ इन्स्योरेन्सको बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यसअघि कम्पनीले बुधबारदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बिहीबारबाट आवेदन खुला गरेको हो ।
यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दैछ ।