अर्थमन्त्री ‘नो म्यान’ हुनैपर्छ : डा. महत

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन्  ।

प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले सबै कुरा ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने बताए । उनले भने, “साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।”

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले ‘माइनस’ रहेको उनले जानकारी दिए । महतले अप्ठारोबीच काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “बजेटको आकार ठूलो भयो भन्ने अर्काेतर्फ खै बजेट भन्ने कुरा पनि आएको छ । अर्थमन्त्रीले त्यही अप्ठारोमा काम गर्नुपर्छ,” ।

उनले बजेट निर्माण गर्दा सीमित स्रोत–साधनबीच काम गर्नुपरेको स्पष्ट पारे । महतले कागती निचोरेर कर लिने नीति आफूले नलिएको बताएका छन् । उनले अर्थतन्त्र विस्तार गरेर कर बढाउने नीति बजेटले लिएको बताए । “माननीयज्यूहरुले भनेअनुसारको राजस्व उठाउन कठिन छ, उठाउन असम्भव भन्ने होइन,” महतले भने, “हामीले पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएका छौँ, त्यो कार्ययोजना अगाडि बढेमा राजस्व उठाउन कठिन छैन ।”

 महतले आफ्ना दाइ डा. रामशरण महतलाई सम्झँदै मूल्य अभिवृद्धि कर (भ्याट)मा दायरा बढाउने काम गरेको बताएका छन् । रामशरणको पालामा भ्याट लागु गरिएको थियो । डा. महतले आफ्नो दाइका पालामा वैज्ञानिक कर प्रणाली भ्याट दक्षिण एसियामा पहिलोपटक लागु गरिएको उल्लेख गरे । त्यो बेला उद्योगी–व्यवसायीको जुलुस निस्कने गरेको उनले स्मरण समेत गरे ।

“भ्याटले नेपालले आफ्नो स्रोतबाट विकास निर्माणको काम गर्न सक्छ भन्ने देखिएको थियो,” उनले भने, “विस्तारै भ्याट नलाग्ने सूची बढ्दै गएको कारण यो कमजोर भएको थियो । योपटक यसको दायरा बढेको छ ।” उनले आलु, प्याजजस्ता दैनिक उपभोगका आयात हुने वस्तुमा भ्याट लगाएको विषयमा नेपालमा यसको उत्पादन बढाउन लगाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा