राष्ट्रपतिलाई ‘महाअभियोग’ लगाउनुपर्छ भन्ने छलफल चलिरहेको छ: पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २८ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रघाती कदम चालेकाले महाअभियोग लगाउनुपर्छ भन्नेसम्मका छलफलहरु भएको खुलासा गर्नुभएको छ ।

समसामयिक राजनीतिक विषयमा रिपोर्टर्स क्लब नेपालद्वारा शनिवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको कोसेली स्वरुप लैजान गैरसंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण र अदालतले जन्मकैद फैसला गरेको रेशम चौधरीलाई आममाफी दिएकाले राष्ट्रपतिमाथि गंभिर प्रश्न उठेको बताउनुभयो । राष्ट्रपतिको विगतको लामो राजनीतिक संघर्षलाई हेर्दा राष्ट्रवादी हुनुहुन्छ होला भन्ने कल्पना गरिएको उल्लेख गर्दै उहाँले उक्त कल्पनाभन्दा ठिक उल्टो राष्ट्रघाती व्यवहार गरेकाले महाअभियोग लगाउनुपर्ने विषयमा छलफल हुन थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीको रिहाई र नागरिकता विधेयक प्रमाणिकरण गरी भारतलाई कोसेली लिएर जानुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणिकरणले गर्दा असंख्य प्रश्नहरु उठे । राष्ट्रपति पौडेलेलाई हामीले राष्ट्रवादी नेता ठानेको तर राष्ट्रवादी हुनुहुन्न रहेछ । उहाँलाई महाअभियोग लगाउनुपर्छ भन्नेसम्मका छलफलहरु भएका छन् । प्रचण्डको सत्ता स्वार्थको लागि राष्ट्रपतिले किन यति धेरै तल ओर्लेर प्रमाणीकरण गर्नुभयो भन्ने हामी अक्कन बक्क पर्यौ । सामान्यतया संसदले पारित गरेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणित गर्नुपर्छ । अघिल्लो राष्ट्रपतिले दुई पटक प्रमाणित नगरेको कुरालाई पुनः प्रतिनिधिसभाका विषय बनाउनु पथ्र्यो । नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । त्यसमा कसैको विमति छैन । तर नागरिकता नपाएका छन् भन्ने भावनामा बगेर नक्कली बनाउने बाटो खोल्नु हुँदैन ।’

राजनीतिक स्थिरताबाट नै विकास सम्भव हुने उल्लेख गर्दै उहाँले बहुमत प्राप्त नहुनुले साना दलहरुलाई प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रिय खेलहरु हुन सक्ने संकेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भुमि सट्टापट्टा गर्न सकिने धारणा राख्नु राष्ट्रघाती कदम भएको उल्लेख गर्दै उहाँले प्रचण्डले नेपाल र नेपाली जनताको हितको लागि भन्दा पनि भारतीय चाहनामा अगाडी बढिरहेको भन्दै आक्रासे जनाउनुभयो । अखण्ड भारतको नक्सामा हात हल्लाउँदै फोटो खिचाउने प्रचण्डले आफ्नो भूमि भारतीय नक्सामा समेटेको विषयमा भारतसँग चुइक्क बोल्न नसकेको आक्रोस जनाउँदै नेता बस्नेतले नेपाली भूमिका आँखा नलगाउन भारतलाई चेतावनी दिनुभयो । राष्ट्रवादी पार्टी एमाले छ भन्ने हेक्का राख्न भारतलाई सचेत समेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमण मुलुकको हितको लागि हैन, भारतलाई खुसी पार्ने र प्रचण्डको कुर्सीलाई फेरी जोगाउनेमात्र हो । कांग्रेसलगातका दलहरुलाई समर्थन गर्न बाध्य पारिरहने । किने भने भोली भारत, चाइना तथा अन्य मुलुक म सँग निकट भन्ने सन्देश दिन चाहन्थे । त्यो दिन उनी सफल भए । अंगिकृत नागरिकताका सवालमा विधेयकले के भन्छ ? भारतको चाहनामा भएको हो कि हैन ? किन प्रधानमन्त्री भारत भ्रमण जानुभन्दा अघि प्रमाणीत भयो ? अखण्ड भारतको नाममा नेपाली भुमि नक्सामा समेट्दा प्रचण्ड किन मैन ? बंगलादेश जाने सडकसँग नेपाली भुमि छाड्न सकिँदैन । भुपरिवेष्ठित देशले समुन्द्रसँग जोडिन पाउँछ । जमिन दिएर राष्ट्रघात गर्न पाइदैन । राष्ट्रवादी पार्टी एमाले छ, जुन कुरा भारतलाई राम्रै हेक्का छ । विगतलाई सम्झे पुग्छ ।’

पहिचानको नाममा प्रदेशमा माओवादीले जातीय द्वन्द्व मच्चाइएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री प्रचण्ड मुलुकको लागि रक्षक नभई भक्षक भएको बताउनुभयो । वर्तमान सरकार जतिधेरै समयसम्म रहन्छ, त्यती नै मुलुकको दुर्भाग्य हुने उल्लेख गर्दै उहाँले एमाले र कांग्रेसले राष्ट्रिय हितको पक्षमा विकल्प सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको राजधानी र नाम प्रदेशको दुई तिहाईले तोक्ने हो । प्रदेशसभामा कोसी प्रदेशको नामाकरणमा समर्थन गर्ने अनि वाहिर चाँही पहिचानको नाममा आन्दोलन गरी एमालेविरुद्ध आफ्ना कार्यकर्ता उचाल्नु माओवादीको लागि आफ्नो लागि आफै समस्या उत्पन्न गरिरहेका छ । राज्य निरिह भएको हो ? प्रहरी संरचना निरिह भएको हो ? १७ हजारमा ५ हजार जिम्मा लिन्छु, लडाकु घोटला, वालुवाटार जग्गा प्रकरण, ओम्नी, यती, नक्कली भुटानी शरणार्थी, वाइडवडी, एनसीएललगायतका काण्डहरु छानविन गरौं । एमालेले पूर्ण रुपमा सहयोग गर्छ । पछिल्लो गतिविधिलाई मुल्याङ्कन गर्दा प्रचण्ड रक्षक हैन, भक्षक हुन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।