३४२ संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौँ महानगर

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा छात्रवृत्ति वितरणमा नियम पालनामा कडाइ गरेको छ ।

संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमानुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन महानगर कठोर रूपमा प्रस्तुत भएको हो ।

महानगरपालिकाले छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावाली विद्यालयलाई सार्वजनिक गर्न कडाइ गर्दै आएको थियो । पछिल्लोपटक महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने र त्यसको विवरण नबुझाउने ३ सय ४२ वटा संस्थागत विद्यालयको नाम र ठेगानासहितको सूची सार्वजनिक गरेर कारबाही प्रक्रिया नै अघि बढाएको छ । महानगरपालिकाको यस कदमले गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले छात्रवृत्ति पाउने सुनिश्चितता बढेको छ । यसअघि छात्रवृत्तिको नाममा आफूखुसी हुँदै आएकामा महानगरपालिकाले नियम पालनामा कडाइ गरेको हो ।

महानगरपालिकाले यही २८ जेठभित्र छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयहरूको अनुमतिसमेत रद्द वा हदैसम्मको कारबाही हुने सार्वजनिक सूचनामार्फत चेतावनीसमेत दिइसकेको छ । महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयलाई नियम कानुन पालनामा कडाइको नीति लिएका हुन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले संस्थागत विद्यालयले वितरण गर्ने छात्रवृत्ति व्यवस्थित गर्नसके करिब १५ हजार विद्यार्थी लाभान्वित हुने जनाएको छ । संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको १० प्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराई सोको विवरण सरकारी निकायलाई बुझाउनुपर्ने व्यवस्था शिक्षा नियमावली, २०५९ मा छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय