सहकारीलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए । 

“संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको जगमा अबको राज्य समाजवाद उन्मुख हुनेछ भनिएको हो,” उनले भने, “समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’’ संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले सार्वजनिक निजी साझेदारी र सहकारीलाईसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।  निकै ठूलो सङ्घर्ष र बलिदानको जगबाट प्राप्त भएको सो उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । 

“संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ,” उनले भने, “संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ ।’’“‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहस छन् । कतिपय शक्ति परिवर्तनका मुद्दा उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्,’’ प्रधानमन्त्री दाहालले भने, “सहकारी आन्दोलनलाई पुँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ ।”

सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुननसक्ने भएकाले कृषिमा आधारित उत्पादन सहकारीको निर्माण, परिचालन, बजारीकरण आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । “नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ,” उनले भने, “उद्योगको हकमा पनि कृषिमा आधारितबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन । कृषिको सहकारीकरणमार्फत मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ ।’’सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए । प्रधानमन्त्रीले भने, “कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु । चुनौती नै चुनौतीका बीच समेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु । यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु ।” रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३