खानेपानी समस्याले बसाइँ सर्दै

काठमाडौँ, १९ चैत । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उनले दुःख व्यक्त गने, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”

शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ । करिब २० हजार लिटर पिउने पानीका लागि र अन्य प्रयोजनका लागि २० लाख लिटर पानी सङ्कलन गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७० सालमा ट्याङ्की निर्माण गरेको थियो तर दुवै ट्याङ्की यतिबेला सुक्खा छन् । स्थानीय हरि विष्टले दुई महिनादेखि मूल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार भएको बताए । 

धनकुटाको चौबिसे, शहीदभूमि, साँगुरीगढी, छथर जोरपाटीलगायतका पालिकामा खानेपानीको निकै समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कअनुसार धनकुटामा ११ प्रतिशत नागरिक खानेपानीको पहुँचबाहिर छन् । जिल्लामा पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्म खानेपानीका मूल सुकेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख राजकुमार मण्डलले जलवायु परिवर्तनसँगै वन फँडानी, अव्यवस्थित खनिएको बाटो, जथाभावी एक्साभेटर प्रयोग, भूकम्प, पोखरी मासिनु, बढ्दो कङ्क्रिट संरचना निर्माण हुनुलगायतका कारण खानेपानीको मूल मासिएको बताए ।

धनकुटा नगरपालिकामा प्रतिसेकेन्ड २४ लिटर पानी आवश्यक रहेकोमा प्रतिसेकेन्ड १२ लिटर मात्र पानी उपलब्ध हुँदै आएको छ । नगरप्रमुख चिन्तन तामाङले खानेपानीको दिगो व्यवस्थापनका लागि थप आयोजना सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले ग्रामीण क्षेत्रमा हिउँदमा पानीको समस्या निकै रहने गरेको गुनासो गरे । शहीदभूमि गाउँपालिकाका प्रमुख मनोज राईले अधिकांश स्थानमा खानेपानी समस्या रहेको बताउँदै खानेपानी व्यवस्थापनका लागि पानीको मूल नभेटिँदा मुख्य समस्या रहेको बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायले पनि मूल नहुँदा समस्या रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल