काठमाडौँ, ८ चैत । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही भागमा आज वर्षा हुने सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा बिहानैबाट हल्का वर्षा भइरहेको छ । आज बिहान कोसी र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन, चट्याङसहित हावाहुरीको पनि सम्भावना रहेकाले यसबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।