नेपालगञ्ज, ७ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आम नेपाली जनताको आशा, भरोसा तथा विश्वासको केन्द्रविन्दुको रुपमा रहेको राष्ट्रिय युवा संघको महाधिवेशनलाई तीन करोड जनताले नियाल्ने तथा प्रत्यक्ष र अप्रत्यक्ष (सामाजिक सञ्जाल, मिडिया तथा अन्य प्रविधिको प्रयोगबाट) दुई करोडभन्दा बढी जनताको सहभागिता हुने दावी गर्नुभएको छ । आगामी चैत २७ देखी २९ गतेसम्म संघको ९औं राष्ट्रिय महाधिवेशन हुदैछ ।
नेकपा एमालेले गरेको मिसन ग्रास रुट तथा संघको राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संघका इन्चार्जसमेत रहनुभएका नेता बस्नेतले तीन करोड जनताले एमालेको युवा संगठन राष्ट्रिय युवा संघको नीति, योजना, भूमिका, अनुशासन, लगनशिलता, सिर्जनशिलता, गतिशिलता र जनताको बिचमा खेल्ने प्रभावकारी भूमिकाको विषयमा नियाल्ने र मनन् गर्न योग्य गर्ने गरी गर्ने उद्घोष गर्नुभयो । १० हजारभन्दा बढी युवाहरुको र्यालीसहितको व्यवस्थित र प्रभावकारी उपस्थितीका साथ महाधिवेशनको उद्घाटन गरिने उल्लेख गर्दै उहाँले चैत २७ देखी २९ गतेसम्म तीन करोड नेपालीको ध्यान नेपागञ्जमा केन्द्रित हुने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘१० हजार भन्दा बढी युवाहरुको र्यालीसहित राष्ट्रिय अधिवेशन गर्छौ । देशभरका सम्पूर्ण जनता (तीन करोड)ले नेपालगञ्जलाई नियाल्नेछन् । हाम्रो संगठनका गतिविधि, काम, भुमिका र प्रभावकारीता देखिनेछ । त्यही भएर जोस् र जाँगर बोकेर अगाडी बढ्नुस्, आजैदेखी लाग्नुस् । हाम्रो आवश्यक पर्यो भने हामी जुनसुकै समय आउन तयार छौं । हाम्रो महाधिवेशन तीन करोड नेपालीको ध्यान केन्द्रीत हुनेछन् भने प्रत्यक्ष तथा अप्रत्यक्ष (सामाजिक सञ्जाल, मिडिया तथा अन्य प्रविधिको प्रयोगबाट) रुपमा दुई करोडको जनताको सहभागिता हुनेछ । १० हजार भन्दा लामो जनसमुदाय उतार्छौ । १० हजार युवालाई टोपी लगाएर, एक सय एक युवाहरु सडकमा उतार्छौ । राष्ट्रिय युवा संघको ९ औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य बनाउँछौं । नेपालगञ्जको घरघरमा युवा संघ हुनेछ । युवाहरुको जोस र जाँगर नयाँ चरणमा सिर्जना गर्नेछौं, युवाहरुले सकरात्मक रुपमा नयाँ तरङ्ग ल्याउनेछन् । १७ सय प्रतिनिधि र अन्य गरी करिव २५ सय संघका कार्यकर्ताहरु अनुसाशित ढंगले नेपालगञ्जमा बस्नेछन् । हामी देखाइदिनेछौं युवाहरु कति अनुशासित ढंगले परिचालित हुनेछन् भन्ने कुरा ।’
विविध कारणले गर्न नसकेको महाधिवेशन १० वर्ष पछि हुन लागेको स्पष्ट पार्दै उहाँले एमाले र माओवादीको एकता, एमालेलाई चौतर्फी हमला भएपछि नेकपा एस बनी फुट, वैदेशीक चलखेल, तत्कालिन समयका समाभुखले पार्टी विभाजन गर्न खेलेको घृणित खेल, पाँच दलले एमालेविरुद्ध आक्रमण गर्ने गरेकाले संघको महाधिवेशन समयमा हुन नसकेको उल्लेख गर्नुभयो । केपी ओली नेतृत्वको सरकारले मुलुकको लागि प्रगतिशिल सुधारका कामहरु भएको स्मरण गर्दै नेता बस्नेतले वर्तमान ११ दलीय गठबन्धका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्याँखे दाउ थापेर लाभ प्राप्त गरिरहेको बताउनुभयो । अजिङ्गरको रुपमा प्रधानन्त्री प्रचण्डले मुलुकको नेतृत्व गरिरहेको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारले गरेको राम्रा तथा वास्तविक कामहरु जनताका बिचमा पुर्याउनलाई एमालेका सवै जनवर्गीय संगठनहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुष्पकमल दाहाल प्रचण्डले अहिले अजिङ्गरको रुपमा मुलुक हल्लाइरहेका छन् । च्याँखे दाउ थापेर लाभ प्राप्त गरिरहेका छन् । नेकपा एमाले जस्तो प्र्रगतिशिल, जनवादी पार्टी चाँही प्रतिकृया दिएर बस्नुपर्ने अवस्था बनेको छ । सोही कारण जनताका बिचमा वास्तविकता कुरा पुर्याउनलाई एमालेका सवै जनवर्गिय संगठनहरुको महाधिवेशन गर्नुपर्छ भनेर हामी आयौं । त्यही सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल बाँके आइपुगेको छ । यहि कुरालाई ध्यान दिएर एमालेले मिसन ग्रास रुट अभियान ल्याए । कतिपय साथीहरुले भनेको मैले सुने, मिसन ग्रास रुटपनि सँगै महाधिवेशन पनि सँगै गर्न गाह्रो हुन्छ । तर त्यसो नभई यो त झन सजिलो भयो भन्ने मलाई लाग्छ । पशुपतिको जात्रा, सिद्राको व्यापार जस्तै भयो । मिसन ग्रास रुटमा प्रत्येक सदस्यताको घर घरमा तपाई पुग्दै हुनुहुन्छ, त्यस सँगसँगै संघको महाधिवेशनको प्रचारप्रसार पनि गर्नुपर्छ । जसले गर्दा दुवै अभियान सफल हुन्छ । देशभरबाट बाँके एमाले आउँदैछ, केपी ओली आउँदै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ ।’
युवा संघका नेता तथा कार्यकर्ता उत्पादन र रोजगारसँग जोडिनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचनमा आफ्नै सदस्यले समेत अर्कोमा भोट हाल्दा हामी बेखवर रहेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रै घरबाट पार्टीलाई सुधार गर्नुपर्छ, सदस्यतालाई समेटेर लैजानुपर्छ । पार्टी प्रवेश गर्दा संघका कमिटीमा अवद्ध गरी अगाडी बढ्नुपर्नेछ । संघलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउनुपर्छ । घर तथा समाज रुपान्तरण गर्न युवा पुस्ताको हातमा गइरहेको छ, युवालाई समेट्न नसके समाज तथा युवाबाट टाढा हुन्छौं । त्यसैले संघले १६–४० वर्षसम्मका सम्पूर्ण युवाहरुलाई समेटेर अगाडी बढ्नुपर्छ । भ्रमबाट मुक्त बनाउन व्यवस्थीत संगठन, प्रशिक्षण, क्षमता अभिवृद्धि, पार्टीको कार्यनीति, युवा सहभागिता लगायतका कार्यहरु, नयाँ पुस्तालाई आकर्षण गर्नको लागि रचनात्मक कार्यहरु आवश्यकता छ । मैदान कब्जा गर्नुपर्छ । मैदान खाली गर्नुहुँदैन । सामाजिक हकहितको कार्यमा संघले नेतृत्व गर्नुपर्छ । युवा संघ र अनेरास्ववियुको संयुक्त आन्दोलनका कारण नेविसंघ र अखिल क्रान्तिकारीको गुण्डागर्दीलाई अन्त्य गराएको छ । नविनता, सिर्जनसिलता र गतिशिलता राष्ट्रिय युवा संघको कार्यभार रहेको छ । युवा संघको होकी नेविसंघको हो भन्ने खालका युवा हामी महाधिवेशनमा ल्याउँदैनौं । नोटिस गर्नुहोस्, यो कुरा । प्रमुख अतिथि केपी ओली होकी शेरबहादुर देउवा हो कि भन्ने टाइपका मान्छे ल्याउँदैनौं ।’