काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा आज पनि बैंकिङ सेवा सञ्चालन हुने भएको छ । घोडेजात्राको बिदा भए पनि काठमाडौँ उपत्यकामा बैंकिङ सेवा सञ्चालन हुने भएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मंगलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारसमेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न निर्देशन दिएपछि आज बैंक तथा वित्तीय संस्थाले सेवा सुरुचारु राख्ने भएका हुन् ।
“घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (ईसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,” राष्ट्र बैंकले हिजो जारी गरेको सूचनामा उल्लेख छ ।