काठमाडौँ, ७ चैत । समावेशी शिक्षा नीति र अपाङ्गता मैत्री भौतिक पहुँचको विस्तार गरी डाउन सिन्ड्रोम भएका व्यक्तिको जीवन सहज बनाउने वातावरण तयार गर्नु पर्नेमा जोड दिइएको छ ।
डाउन सिण्ड्रोम समाज नेपालद्वारा मार्च २१ तारिखका दिन मनाइने विश्व डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा सोमवार राजधानीमा आयोजित गोष्ठीमा सहभागी वक्ताहरूले डाउन सिन्ड्रोमबाट प्रभावित बालबालिकालाई उचित शिक्षा र तालिम प्राप्त भएमा आत्मनिर्भर हुन सक्ने भएकोले समावेशी शिक्षा नीतिलाई कार्यान्वयनमा जोड दिनुभएका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अपाङ्गता प्रवद्र्धन शाखा प्रमुख उपसचिव जमुना मिश्रले राज्यले अपाङ्गता भएका व्यक्तिका अधिकारलाई सम्वोधन गर्न अपाङ्गता सम्वन्धी दस वर्षे राष्ट्रिय नीति, अपाङ्गता भएका व्यक्तिका अधिकार सम्वन्धी ऐन, २०७५, समावेशी शिक्षा नीति ल्याएकोमा यसको पूर्ण कार्यान्वयनका लागि सरोकारवाला सङ्घ संस्था र हरेक सचेत नागरिक एकजुट हुनु पर्ने बताउनु भयो ।
उहाँले अपाङ्गता अधिकारको सुनिश्चित गर्ने लक्ष्यले बनाइएका नीति, कानुनबारे व्यापक छलफल पनि हुनुपर्ने र सरोकारवाला वर्गले आफ्नो अधिकारबारे थाह पाउने र कार्यान्वयनको वातावरणका लागि पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डाउन सिण्ड्रोम समाज नेपालका अध्यक्ष शिला थापाले सन् २००६ देखि डाउन सिण्ड्रोम अवस्था भएका व्यक्तिहरुको लागि वकालत तथा पैरवी गर्दै आइरहेको बताउनु भयो । साथै उहाँले सत्यम दिवा सेवा मार्फत डाउन सिण्ड्रोम अवस्था भएका केटाकेटीहरुको बौदिक, शारीरिक तथा मानसिक विकासको लागि पुनर्स्थापनाका कार्यक्रमहरु सञ्चालन गरेकोमा हाल ३ जना डाउन सिण्ड्रोम अवस्था भएका युवाहरु रोजगारीको लागि तालिममा आवद् छन् भने डाउन सिण्ड्रोम समाज नेपालमा नेपाल भरीका ३ हजार ५ सय जना जति अभिभावकहरु सम्पर्कमा रहेको समेत बताउनु भयो ।
उहाँले अपाङ्गता भएका बालबालिकालाई परिवारले घरबाहिर नै ननिकाल्ने अवस्थामा परिवर्तन आएको छ, राज्यले अपाङ्गता भएका बालबालिकामा पनि लगानी गरेर आत्मनिर्भर बनाउने वातावरणका लागि अभिभावकलाई सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले अपाङ्गता भएका बालबालिकाका लागि प्रविधीयुक्त सिकाइ पद्धतीमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले विविध प्रकारका अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिकाले भन्दा ढिला सिक्छन्, र पुस्तक र शिक्षकको सिकाई पद्धती अनुसार पढ्न, सिक्न नसक्ने भएकोले चित्र, आवाजलगायत विविध चिन्हको माध्यमबाट सिकाउनुपर्ने र यो पद्धती समावेशी शिक्षा अन्तरगतकै सिकाई रहेको बताउनुभयो ।
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले अपाङ्गता भएका बालबालिकालाई अभिभावक, परिवार, शिक्षकको विशेष सहयोग र अपाङ्गतामैत्री वातावरण र अन्य बालबालिकासँगै राखेर पढाउने वातावरण भए अपाङ्गता भएका बालबालिका र अन्य बालबालिकाबीच पनि सहयोगी भावनाको विकास हुने बताउनुभयो । संयुक्त राष्ट्र सङ्घले सन् २०१२ देखि मार्च २१ तारीखको दिनलाई विश्व डाउन सिन्ड्रोम दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । यस वर्ष “हामी सँगै छौँ ।”, भन्ने नारासहित विश्वभर यस दिवस मनाईदै छ ।