काठमाडौँ, १ चैत । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागु भएको छ ।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउनेबारे गरेको निर्णय आजदेखि लागु भएको हो । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको हो । जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।
संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिटेन्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ । यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एक वर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ । यसैगरी, चैतमा एक वर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् । उता, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।
सङ्घले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएको हो । फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएको छ ।