काठमाडौँ, १९ मंसिर । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।
अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित १४ सांसदको पद बहाल रहने कि नरहने भन्नेसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
आफूले कारबाही गरी पार्टी र सांसद पदबाट बर्खास्त गरिसकेका व्यक्तिलाई संसद सचिवालय र सभामुख अग्निप्रसाद सापकोटाले अर्को पार्टीको नामबाट सांसद पदको मान्यता दिएको भन्दै एमालेले सर्वोच्चमा रिट दर्ता गराएको थियो । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा लुम्बिनी प्रदेशका तत्कालीन सांसद तथा सभामुख पूर्णबहादुर घर्ती लगायतलाई विपक्षी बनाई दायर भएको रिट पनि लगाउमा राखिएको थियो । पेसी सूचीको २२ नम्बरमा रहेको उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको हो । सोमबार १ नम्बर सूचीमा रहेको दुईवटा मुद्दाको मात्रै सुनुवाई गरेर अरु सबै मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।