काठमाडौँ, १५ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नु दुखद् तथा गंभिर चिन्ताको विषय भएको बताउनुभएको छ ।
एमाले लगायतका गठबन्धनबाहेकका दलहरुले स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने माग राखेका थिए । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ । सोही कुरालाई नेता बस्नेतले सत्तापक्षको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै आक्रोस जनाउनुभयो । लोकतन्त्रको पहरेदार ठान्ने कांग्रेसले आफु शक्तिशाली भएको ठाउँहरुमा बुथ कब्जा गर्ने, धाँधली गर्ने, मरेका तथा विदेश भएका सवै मतदाताको भोट आफ्ना कार्यकर्तालाई लगाउन लगाएको आरोप लगाउँदै नेता बस्नेतले सत्तापक्षले कतिपय ठाउँहरुमा प्रहरी प्रशासनलाई समेत प्रयोग गरेर मत हालेरको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नु दुखद र गम्भीर चिन्ताको विषय हो । काँग्रेसको लोकतन्त्र गजबको छ । उ शक्तिशाली भएको ठाँउमा सधैं बुथ कब्जा र धाँधलीको सहारा लिन्छ । मरेका, विदेश गएका सबै मतदाताको भोट कार्यकर्ता र कतिपय ठाँउमा प्रहरी र कर्मचारीले समेत प्रयोग गरेर मत हालेर आफू जितेर लोकतन्त्र बलियो बनाउने गजबको भाषण गर्दछ । पार्टी सिस्टममा लोकतन्त्र सबैको जीवन पद्धतिको विषय नबनेसम्म यस्ता समस्या आइरहन्छ । सबैले आ आफ्नो ठाँउमा रहेर योगदान गरौं । समृद्ध नेपाल स् सुखी नेपाली बनाउने अभियानमा लागौं ।’