भक्तपुर, १३ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोस जनाउनुभएको छ ।
नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रुपमा स्थापीत गराएको स्मरण गराउनुभयो । ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको विदा मनाइरहेको दावी गर्नुभयो । जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि विदा गर्ने दावी गर्नुयभो । मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उहाँले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा चाएको थियो । विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जता ततै लहर नै छाएको थियो । तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन । अघिल्लो कार्तिक तथा मंसिरमा जता ततै विकासका कार्यहरु भएका थिए । उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो । तर यो सरकार आएसँगै चाल आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन् । विकास र मुलुकमा नै होलीडे बनेको छ । सरकारलाई विकासको त क्यान्सर नै लागेको छ । आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ । त्यस पछि एमालेको सरकार बन्ने छ । जसले विकास प्रति जनताको तिव्र चाहनालाई पुरा गर्नेछ ।’
निर्वाचनमा एमालेको प्रतिष्पर्धि कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उहाँले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गर्नुभयो । एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै उहाँले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाउनुभयो । वर्तमान सरकारले एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधियक ल्याई मुलुकलाई सयौं वर्ष पछि धकेल्ने मात्र नभई शक्ति राष्ट्रहरुको खेलमैदानको रुपमा लैजान खोजेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा राष्ट्रघातीलाई चोट तथा राष्ट्रवादी एमालेलाई जनताले भोट दिनुपर्नेमा जोड दिनुभयो ।
एमाले मुलुक र जनताप्रति शतिसाल झैं उभिएको स्मरण गराउँदै उहाँले गठबन्धनका दलहरुले भक्तपुरका जनतासँग भोट माग्ने नैतिक अधिकार समेत नभएको बताउनुभयो । विकासको बजेट समेत कटौती गरी जनताको भाग्य र भविष्य खेलवाड गर्न खोजेको आरोप लगाउँदै नेता बस्नेतले गठबन्धन दलका उम्मेदवारले भक्तपुरका जनताको माझमा मखुण्डो लगाएरमात्र आउनसक्ने बताउनुभयो । निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरी बुथमा दवाप दिएर अगाडी बढ्ने गठबन्धन दलहरुको योजना आफुहरुलाई जानकारी आएको उल्लेख गर्दै उहाँले भक्तपुरमा दवाप दिएर निर्वाचनलाई विथोल्ने प्रयास गर्ने सपना नदेख्न चेतावनी दिनुभयो । गठबन्धनको दवाप पानीको फोका झैं फुट्ने उल्लेख गर्दै उहाँले तेब्बर मतका साथ सानदार विजयी हुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराईले टेको लगाई पार्टीको बैससाखीले नेपाली कांग्रेसले समाजवादको लक्ष्य पुरा गर्न नसक्ने दावी गर्नुभयो । उद्योग बेच्नु नै कांग्रेसको लागि ठूलो उपलब्धी ठान्ने कांग्रेसले एमसीसीलाई सरकारको ठूलो उपलब्धी भन्दै घोषणा पत्रमा नै उल्लेख गर्नु राष्ट्रघाती कदम भएको बताउनुभयो । रेलमार्ग, जलमार्ग, सुरुङमार्गलगायतका एमालेका एजेण्डाहरु कांग्रेसले चोरेको समेत उहाँले आरोप लगाउनुभयो ।
कार्यक्रममा एमाले क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्रका एमालेको उम्मेदवार किरण थापाले आगामी निर्वाचनमा एमालेको नेतृत्वमा विगतमा भएको कामहरुको मूल्याङ्कन नै विजयी हुने महत्वपूर्ण आधार भएको बताउनुभयो । विगतको पाँच वर्ष एमालेको नेतृत्वमा पूर्वाधार विकासमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा विकासको नयाँ भिजन र दृष्टिकोणको आधारमा अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । एमालेका उम्मेदवार योग्य व्यक्ति रहेको दावी गर्दै उहाँले जनताको भाग्य र भविष्यलाई उज्वल बनाउने पार्टी एमालेमात्र भएको दावी गर्नुभयो । गठबन्धनका उम्मेदवारहरुले जनताको पक्षमा हालसम्म केही पनि काम गर्न नसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले गठबन्धनका उम्मेदवार अब निर्वाचनमा नातावाद र कृपावादमा सिमित भएर एमाले विरुद्ध भ्रम छर्दै आउने भएकाले सचेत रहन आग्रह गर्नुभयो । स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने प्रतिवद्धता जनाउँदै उहाँले नगरक्षेत्रमा नै जनताले पाउनुपर्ने आधारभुत स्वास्थ्य उपचारका लागि नगरक्षेत्रभित्र नै सम्पूर्ण उपचार हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।