काठमाडौँ, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनाप्रति सरकारलाई ध्यानाकर्षण गराएको छ ।
कार्तिक ११ गते महाकाली नदी पारी भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा टाउकोमा लागेर गम्भीर चोट लागेका दार्चुलाको व्यास गाउँपालिका-२ का ९ वर्षका सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत पवन महराको मृत्यु भएको साथै ढुंगा लागेर १४ वर्षीया सरिना महरा घाइते भएको थियो ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा हालसम्म पनि देउवा नेतृत्वको सरकार मौन रहेको र सरकारले भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट कुनै कुरा नराखेको बताएकी छन् ।
उनले यी र यस्ता खाले गलत हर्कतका विरुद्ध भारतीय पक्षको घोर भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको सत्यतथ्य छानविन गरी बाहिर ल्याउन नेपाल सरकार समक्ष जोडदार माग गरेकी छन् । साथै पटक पटक यस्ता घटना नदोहोराउन भारतीय पक्षलाई सम्वेदनशील हुन र ठुल्दाई प्रवृत्ति त्याग्न अनेरास्ववियु चेतावनी समेत दिएको छ ।