काठमाडौँ, १२ कार्तिक । ऐन बनेको तीन वर्षपछि पहिलो पटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक आउने साता बस्दैछ । वातावरण संरक्षण ऐन, २०७६ ले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को गठन गर्ने व्यवस्था गरे पनि ऐन बनेको लामो समय बित्दा पनि परिषद्ले पूर्णता पाएको थिएन । गत भदौ २१ गते सरकारले यो परिषद् मा रिक्त सदस्यको नियुक्ति गरेको थियो ।
कात्तिक २० गतेदेखि इजिप्टमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२७) आयोजना हुन लागेको सन्दर्भमा त्यसअघि नै परिषद्को बैठक बस्ने लागेको हो । यो बैठकमा कोप-२७ का लागि नेपालको तयारीबारे छलफल तथा जलवायु अनुकूलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने रणनीति तथा कार्यायोजनालाई अनुमोदनको तयारी भइरहेको सम्बद्ध अधिकारीले बताएका छन् । प्रधानमन्त्रीका वातावरण तथा जलवायु सल्लाहकार तथा परिषद् सदस्य डा. माधवबहादुर कार्कीका अनुसार सोमबार बस्ने परिषद्को बैठकमा चारवटा विषय प्रस्तुत गरिनेछ। आजको नागरिक दैनिकमा समाचार छ ।